‘झिँगेदाउ २’को दोस्रो गित, ‘ए माया नजिकै सर’ सार्वजनिक

काठमाडौँ, १ असोज । फिल्म ‘झिँगेदाउ २’को दोस्रो गित, ‘ए माया नजिकै सर’ सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा सिनेमा ‘झिँगेदाउ २’ ले पर्वको माहोललाई समेत आफ्नो प्रचारसँग जोड्न थालेको छ । तीजलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको ‘जेठानी–देउरानी’ गीतले चर्चा पाइरहेका बेला निर्माण पक्षले दशैंको स्वाद बोकेको नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गीतले नेपाली समाजमा चाडपर्वको समयमा देखिने पारिवारिक तथा सांस्कृतिक माहोललाई पर्दामा उतार्ने प्रयास गरेको छ । गीतको भिडियोमा मुख्य कलाकारहरू रातो टीका र जमरासहित देखिन्छन् भने रोटे पिङमा रमाइरहेको समूहले दशैंको वातावरणलाई थप जीवन्त बनाएको छ । तीजको माहोल सकिन नपाउँदै दशैंको झल्को दिने गरी गीत सार्वजनिक गरिनुलाई सिनेमाको प्रचार रणनीतिको निरन्तरताका रूपमा पनि हेर्न सकिन्छ ।

‘ए माया नजिकै सर’मा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकार केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टलाई नृत्य गर्दै देखाइएको छ । भिडियोमा केकी र आँचलबीचको झगडाको प्रसंगसमेत समेटिएको छ ।

यसले सिनेमामा देखाइने पारिवारिक सम्बन्ध, आपसी तकरार र मनोरञ्जनात्मक पक्षको झल्को दिने निर्माण पक्षको अपेक्षा छ ।यसअघि ‘झिँगेदाउ २’ले सार्वजनिक गरेको ‘जेठानी–देउरानी’ गीतले पनि दर्शकको ध्यान खिचेको थियो । उक्त गीतमार्फत पारिवारिक सम्बन्ध र नेपाली समाजमा प्रचलित चाडपर्वको परिवेशलाई प्रस्तुत गरिएको थियो । नयाँ गीतले भने त्यसैको निरन्तरतामा दशैंको सांस्कृतिक पक्षलाई केन्द्रमा राखेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमामा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको सिनेमाका सह–निर्माता रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा हुन् ।

सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टसँगै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ । विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । ईश्वर घिमिरे प्रोडक्सन हेड हुन् ।

सिनेमाको यसअघि सार्वजनिक टिजर र ट्रेलरले पनि दर्शकको ध्यान तानेको निर्माण पक्षको भनाइ छ । अझ महत्वपूर्ण पक्ष के छ भने ‘झिँगेदाउ २’ प्रदर्शनमा आउनुअघि यसको पहिलो भाग ‘झिँगेदाउ’ ले युट्युबमा ८२ लाखभन्दा बढी भ्यूज पाइसकेको छ । पहिलो भागप्रति दर्शकको चासो र नयाँ भागका सार्वजनिक सामग्रीप्रतिको प्रतिक्रियालाई निर्माण पक्षले सकारात्मक संकेतका रूपमा लिएको छ ।

असोज २ गते शुक्रबारदेखि प्रदर्शनमा आउने ‘झिँगेदाउ २’ ले पारिवारिक सम्बन्ध, हास्य र सामाजिक परिवेशलाई कथाको केन्द्रमा राखेको छ । पर्वको समयमा दर्शकसँग प्रत्यक्ष जोडिने गीत तथा भिडियो सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रचारलाई पनि क्रमशः तीव्र बनाउँदै लगेको छ । दशैंको माहोल सुरु हुनुअघि सार्वजनिक गरिएको ‘ए माया नजिकै सर’ले अब सिनेमाको प्रचारमा कस्तो प्रभाव पार्छ भन्ने चासो पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्