काठमाडौँ, ३१ भदौ । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट ट्रायथलनका दुई प्राविधिक अफिसियलले सहभागिता जनाउने भएका छन् ।
नेपाल ट्रायथलन संघले एसियाडमा टेक्निकल अफिसियलका रूपमा सहभागी हुन लागेका चाहना शाह र पुष्परत्न वज्राचार्यलाई बुधबार एक कार्यक्रमबीच विदाइ गरेको हो । उनीहरू एसियाली खेलकुदमा ट्रायथलन विधाको प्राविधिक जिम्मेवारी सम्हाल्न जापान जानेछन् ।
विदाइ कार्यक्रममा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दुवै अफिसियललाई शुभकामना दिँदै एसियाडजस्तो ठूलो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राविधिक अधिकारीको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो । प्रतियोगितालाई निर्धारित नियम र मापदण्डअनुसार सञ्चालन गर्न टेक्निकल अफिसियलको जिम्मेवारी महत्वपूर्ण हुने भएकाले आफ्नो अनुभव र दक्षता प्रस्तुत गर्न उहाँले आग्रह गर्नुभयो ।
यसपटक एसियाली खेलकुदमा नेपालले ट्रायथलनमा खेलाडी सहभागी गराउन भने सकेको छैन । नेपाली ट्रायथलनले विगतका एसियाली खेलकुदमा सहभागिता जनाउँदै आए पनि यसपटक ओलम्पिकसँग सम्बन्धित विवादका कारण खेलाडी सहभागिता हुन नसकेको संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेपालले खेलाडीका रूपमा सहभागिता जनाउन नसके पनि दुई प्राविधिक अफिसियलको उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली ट्रायथलनको प्रतिनिधित्व भने कायम रहनेछ । एसियाडमा नेपाली प्राविधिक अधिकारीको सहभागितालाई संघले नेपालको ट्रायथलन खेलको प्राविधिक क्षमता र अन्तर्राष्ट्रिय पहुँचका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
आइची–नागोयामा हुने एसियाली खेलकुदमा ट्रायथलनका प्रतिस्पर्धा सेप्टेम्बर २० र २१ तारिखमा सञ्चालन हुनेछन् । प्रतियोगितामा एसियाका विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
ट्रायथलनमा पौडी, साइकल र दौडलाई एउटै प्रतिस्पर्धामा समेटिने भएकाले यसलाई शारीरिक सहनशीलता र बहुआयामिक दक्षता आवश्यक पर्ने खेलका रूपमा लिइन्छ । एसियाडजस्तो ठूलो प्रतियोगितामा नेपाली प्राविधिक अफिसियलले जिम्मेवारी पाउनु अन्तर्राष्ट्रिय स्तरमा नेपाली ट्रायथलनको उपस्थितिका लागि सकारात्मक मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्