काठमाडौँ, ३० भदौ । हरितालिका तीजलाई नेपाली महिलाको उत्सव, भेटघाट र आफ्ना भावना अभिव्यक्त गर्ने पर्वका रूपमा लिइन्छ । यही पर्वको अवसर पारेर सार्वजनिक गरिएको नयाँ गीत ‘गाउँ घरमा’ले भने तीजको रमझमसँगै समाजको गम्भीर यथार्थलाई दर्शकमाझ ल्याएको छ । गीतको भिडियोमार्फत महिला हिंसा, बलात्कार तथा छोरीहरूको सुरक्षासँग जोडिएको संवेदनशील विषय उठाइएको छ ।
सलिना बिके, समीरा थपलिया र श्रेया राईको स्वर रहेको गीतमा फिरोज बस्नेतको शब्द तथा संगीत छ । दीक्षित पौडेलले गीतमा संगीत संयोजन गरेका छन् भने चन्द्र चौधरीले मिश्रण तथा ध्वनि परिष्करण गरेका हुन् ।
‘गाउँ घरमा’को विशेष पक्ष यसको भिडियोमा प्रस्तुत गरिएको कथा हो । सामान्यतः तीजका गीतका भिडियोमा नाचगान, मनोरञ्जन, प्रेम तथा पारिवारिक सम्बन्धका विषयलाई प्राथमिकता दिइने भए पनि यस गीतले त्यसबाट केही फरक बाटो रोजेको छ । भिडियोले समाजमा अझै कायम रहेको महिला हिंसा र छोरीहरूको असुरक्षालाई केन्द्रमा राख्दै दर्शकलाई सोच्न बाध्य बनाउने प्रयास गरेको छ ।
भिडियोको सुरुवातमा तीन चेली रमाउँदै नाचिरहेको दृश्यबाट हुन्छ । तीजको माहोलमा उनीहरू खुसीसाथ रमाइरहेका देखिन्छन् । तर कथा अघि बढ्दै जाँदा उनीहरूको जीवनमा अप्रिय घटना घट्छन् । सुरुवातको उल्लास र अन्त्यतिर देखाइने पीडाबीचको अन्तरले भिडियोको सन्देशलाई अझ प्रभावकारी बनाएको छ ।
विशेषगरी भिडियोले एउटी छोरीमाथि हुने हिंसाले उसको व्यक्तिगत जीवनमा मात्र नभई परिवार र समाजमा समेत पार्ने असरलाई देखाउन खोजेको छ । मनोरञ्जनका लागि बनाइएको गीतको माध्यमबाट महिला तथा बालिकाको सुरक्षालाई लिएर समाजमा उठिरहेको प्रश्नलाई दर्शकसमक्ष पु¥याउने प्रयास गरिएको छ ।
‘छोरी कहाँ सुरक्षित छन् ?’ भन्ने प्रश्नलाई भिडियोले मुख्य भावका रूपमा अगाडि सारेको छ । घर, गाउँ, समाज तथा सार्वजनिक स्थानमा छोरीहरूले भोग्नुपर्ने असुरक्षाका विषयमा बहस भइरहेका बेला गीतले मनोरञ्जनको लोकप्रिय माध्यममार्फत त्यसतर्फ ध्यानाकर्षण गराएको हो ।
तीजलाई महिलाले आफ्ना सुख–दुःख, पीडा र भावनालाई गीत तथा नृत्यमार्फत व्यक्त गर्ने पर्वका रूपमा समेत लिइन्छ । त्यसैले तीजको अवसरमा सार्वजनिक भएको ‘गाउँ घरमा’ले पर्वको सांस्कृतिक पक्षसँगै वर्तमान सामाजिक अवस्थालाई समेत जोड्ने प्रयास गरेको देखिन्छ । गीतमा मनोरञ्जनको पाटो भए पनि भिडियोको कथा भने गम्भीर र भावनात्मक बनाइएको छ ।
भिडियोमा तीन चेलीको माध्यमबाट प्रस्तुत गरिएको घटनाक्रमले समाजमा महिला र बालिकाको सुरक्षाका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको सन्देश दिन खोजेको छ । हिंसाका घटना भएपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा यस्ता घटना रोक्न परिवार, समाज र राज्यको भूमिकाबारे सोच्नुपर्ने संकेत पनि भिडियोले गरेको छ ।
अन्जान मोक्तानको कोरियोग्राफी रहेको गीतको भिडियो निर्मल कुमार लामाले निर्देशन गरेका हुन् । पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेका छन् । भिडियोको परियोजना व्यवस्थापन प्रवेश खत्रीले गरेका हुन् ।
तीजको अवसरमा सार्वजनिक हुने गीतहरूको भीडमा ‘गाउँ घरमा’ले उठाएको विषयले यसलाई फरक बनाएको छ ।
पर्वको उल्लाससँगै समाजमा विद्यमान महिला हिंसा र छोरीहरूको सुरक्षाको सवाललाई जोडेर तयार गरिएको भिडियोले दर्शकलाई मनोरञ्जनसँगै गम्भीर प्रश्नतर्फ फर्काउने अपेक्षा गरिएको छ ।
गीतले तीजको सांस्कृतिक उत्सवलाई केवल नाचगानमा सीमित नराखी महिलाको जीवन, सुरक्षा र सम्मानसँग जोडिएका विषयमा संवाद सुरु गर्ने माध्यम बन्न खोजेको छ । अब यसको सन्देश दर्शकमाझ कत्तिको प्रभावकारी रूपमा पुग्छ भन्ने कुरा यसको आगामी प्रतिक्रियाले निर्धारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्