काठमाडौं, ३० भदौ । पारिवारिक सम्बन्धभित्रको प्रेम, द्वन्द्व, माया र विछोडलाई कथाको केन्द्रमा राखिएको सिनेमा ‘झिँगेदाउ २’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको ट्रेलरले कथाको मुख्य विषयवस्तुका साथै पात्रहरूबीचको सम्बन्ध र द्वन्द्वलाई समेत संकेत गरेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमाको सार्वजनिक ट्रेलरमा परिवारभित्र देखिने दाजुभाइको मनमुटाव, जेठानी–देउरानीबीचको विवाद, आमाको ममता र सन्तानको प्रेमलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । विशेषगरी आफ्नी आमाको खोजीमा निस्किएका सन्तानको यात्रालाई ट्रेलरले भावनात्मक रूपमा उठाएको देखिन्छ ।
ट्रेलरमा एकातिर पारिवारिक सम्बन्धमा आउने तनाव र विवादलाई देखाइएको छ भने अर्कोतर्फ आमाप्रतिको सन्तानको प्रेमलाई कथाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ । यसले ‘झिँगेदाउ २’ केवल पारिवारिक झगडामा सीमित नभई सम्बन्ध, विछोड र भावनासँग जोडिएको कथा भन्न खोजेको छ ।
सिनेमाले पारिवारिक विषयवस्तुलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ । ट्रेलरमा देखिएका संवाद, पात्रहरूको आपसी टकराव र भावनात्मक दृश्यले सिनेमाप्रति दर्शकको चासो थप बढाउने अपेक्षा गरिएको छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन् ।
सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको सिनेमालाई मित्र डी गुरुङको सम्पादन रहेको छ । अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमाका उत्पादन प्रमुख ईश्वर घिमिरे हुन् ।
‘झिँगेदाउ २’को प्रचारमा यसअघि सार्वजनिक सामग्रीले पनि सकारात्मक प्रभाव पारेको निर्माण पक्षको दाबी छ । विशेषगरी सिनेमामा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज गीतले दर्शकको ध्यान तानेको छ । गीत युट्युब तथा टिकटकमा समेत चर्चामा आएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले ३७ लाखभन्दा बढी पटक हेरिएको जनाइएको छ ।
यसअघि निर्माण भएको ‘झिँगेदाउ’ले पनि दर्शकमाझ राम्रो प्रभाव छाडेको थियो । युट्युबमा समेत पहिलो भागले ८० लाखभन्दा बढी भ्यूज पाइसकेको बताइएको छ । यही कारण दोस्रो भागप्रति दर्शकको अपेक्षा पनि बढेको निर्माण पक्षको बुझाइ छ । पहिलो भागसँग जोडिएको दर्शकीय परिचय र दोस्रो भागले उठाएको पारिवारिक तथा भावनात्मक कथाका कारण ‘झिँगेदाउ २’लाई यस वर्षको प्रतीक्षित नेपाली सिनेमामध्ये एकका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्