काठमाडौँ, २९ भदौ । नेपालमा पहिलोपटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लिगको पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर किंग्सले उपाधि जितेर इतिहास बनायो । प्रतियोगिताको अन्तिम नतिजामा मात्र होइन, व्यक्तिगत उत्कृष्ट खेलाडीको पुरस्कारमा पनि अन्नपूर्णकै खेलाडीले आफ्नो प्रभाव कायम राखे ।
एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभिएल)को पहिलो संस्करणमा सात विधामा प्रदान गरिएको व्यक्तिगत उत्कृष्ट खेलाडीको पुरस्कारमध्ये चार अन्नपूर्णका खेलाडीले हात पारे । यसले प्रतियोगितामा अन्नपूर्णको सामूहिक प्रदर्शनसँगै उसका खेलाडीको व्यक्तिगत प्रभावसमेत बलियो रहेको देखाएको छ ।
अन्नपूर्णका उरनबयार मुंखबयार प्रतियोगिताकै सर्वाधिक महत्वपूर्ण व्यक्तिगत पुरस्कार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले यसबापत एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । अन्नपूर्णकै तुरमाण्डख गाँखुयागले उत्कृष्ट सर्भर र उत्कृष्ट सेटरको पुरस्कार पाए भने एन्ख–एर्देने जार्गाल्ट्सोत उत्कृष्ट अपोसिट हिटर चुनिए ।
अन्य तीन विधाको पुरस्कार भने फरक टोलीका खेलाडीले हात पारे । कर्णाली शिवराजका विनोदबहादुर चन्द उत्कृष्ट लिबेरो, मधेश वारियर्सका रविन नगरकोटी उत्कृष्ट मिडिल ब्लकर तथा काठमाडौंका अहमद मुस्ताफा खान उत्कृष्ट आउटसाइड हिटर घोषित भए । सातै विधाका उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई समेत २० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
व्यक्तिगत पुरस्कारमा अन्नपूर्णको दबदबा देखिनुको मुख्य आधार भने फाइनलसम्मको उसको यात्रा थियो । लिग चरणमा बलियो प्रदर्शन गर्दै आएको अन्नपूर्णले निर्णायक खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले सुरुदेखि नै खेलमा नियन्त्रण कायम राख्यो । पहिलो सेटमा ४–१ को अग्रता बनाएको अन्नपूर्णविरुद्ध कर्णालीले केही समय ५–४ को अवस्थामा खेल फर्काउने प्रयास गरेको थियो । तर, त्यसपछि अन्नपूर्णले लगातार दबाब बढाउँदै पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।
दोस्रो सेटको सुरुवात भने विवादका कारण केही समय तनावपूर्ण बन्न पुग्यो । अन्नपूर्ण ५–३ ले अघि रहेका बेला कर्णालीका मार्की खेलाडी पहल गहतराजले रेफ्रीको निर्णयमा असहमति जनाएपछि उनलाई पहेँलो कार्ड देखाइएको थियो । त्यसपछि कर्णालीका विदेशी खेलाडी अलि रेजा अबलुजले पनि विरोध गरेपछि उनलाई समेत पहेँलो कार्ड देखाइएको थियो ।
विवादकै क्रममा दर्शकदीर्घाबाट अन्नपूर्णका खेलाडीमाथि पानीको बोतल कोर्टमा फ्याँकिएपछि खेल केही समय रोकिएको थियो । कर्णालीले खेल अघि नबढाउने अडान लिएपछि २० मिनेटभन्दा बढी समय खेल प्रभावित बनेको थियो । तर, खेल पुनः सुरु भएपछि अन्नपूर्णले आफ्नो लय कायम राख्दै उपाधि सुरक्षित ग¥यो ।
नेपाल भलिबलमा पहिलोपटक सुरु गरिएको पुरुष फ्रेन्चाइज लिगले खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनुका साथै व्यावसायिक भलिबलको सम्भावनालाई समेत फराकिलो बनाएको छ । लिगमा ६ पुरुष टोलीको सहभागिता थियो ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ थियो । नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापनमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले लिगले खेलाडीको स्तर विकाससँगै नेपाली भलिबललाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने धारणा राखे । केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले लिगको नाराजस्तै नेपाली खेलकुदका विभिन्न क्षेत्रमा ‘उचाइको नयाँ उडान’ आवश्यक रहेको बताउनु भयो ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पनि निजी क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिँदै खेलको विकास र विस्तारमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँका अनुसार लिगलाई यो स्तरमा पु¥याउन निजी क्षेत्रसँगै दर्शकको योगदान पनि महत्वपूर्ण रह्यो ।
पहिलो संस्करणको उपाधि अन्नपूर्णले जित्नु र व्यक्तिगत उत्कृष्टतामा समेत चार पुरस्कार हात पार्नुले उसको सफलतालाई थप विशेष बनाएको छ । अब दोस्रो संस्करणमा अन्य टोलीले अन्नपूर्णको यो दबदबा तोड्ने चुनौती सामना गर्नुपर्नेछ भने अन्नपूर्णलाई आफ्नो पहिलो संस्करणको सफलतालाई निरन्तरता दिने दबाब हुनेछ ।
प्रतिक्रिया दिनुहोस्