भक्तपुर, २६ भदौः जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो ।
ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिनुभयो ।
यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पक्राउ गरिएको छ । सर्लाहीको बरहथवा नगरपालिका–७ का साहले प्रतिसिलिन्डर रु. दुई हजार ८०० मा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो । निजको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डर जफत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्