विपद्का कारण स¥यो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनाले

काठमाडौँ, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण देशका विभिन्न क्षेत्रमा विपद्को अवस्था सिर्जना भएपछि फेसन तथा मोडलिङसम्बन्धी प्रतियोगिता ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनाले स्थगित गरिएको छ । आयोजक एमएस प्रोडक्सनले प्रतियोगी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निर्धारित कार्यक्रमको मिति परिवर्तन गरेको हो ।

आयोजकले जारी गरेको सूचनाअनुसार यसअघि अगस्ट ३० मा आयोजना गर्ने तय भएको ग्रान्ड फिनाले अब सेप्टेम्बर ६ मा हुने भएको छ । फिनाले काठमाडौँको ग्वार्कोस्थित रोयल टुलिपमा बेलुका ५ बजे सुरु हुनेछ । आयोजकले अगस्ट २८ मै विपद्को अवस्थालाई मध्यनजर गर्दै फिनाले स्थगित गरिएको जानकारी गराएको थियो । त्यसपछि नयाँ मिति सार्वजनिक गरिएको हो ।

भोटेकोशीमा आएको बाढीले विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला मनोरञ्जन तथा फेसनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभन्दा सहभागी तथा सम्बन्धित व्यक्तिको सुरक्षा सुनिश्चित गर्नुपर्ने भएकाले फिनाले स्थगित गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ । विपद्को अवस्थामा प्रतियोगी, आयोजक, निर्णायक, अतिथि तथा अन्य सम्बन्धित व्यक्तिको आवतजावत र सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम सारिएको हो ।

आयोजक एमएस प्रोडक्सनले प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकले देखाएको समझदारी र सहयोगप्रति आभार व्यक्त गरेको छ । साथै, विपद्को अवस्थामा सबैलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

यस वर्षको ‘फेस अफ नेपाल’को ग्रान्ड फिनालेमा कुल १९ प्रतियोगी प्रतिस्पर्धामा रहेका छन् । आयोजकका अनुसार प्रतियोगितामा आठ जना महिला र ११ जना पुरुष प्रतियोगी छन् । छनोट प्रक्रियाका विभिन्न चरण पार गर्दै फिनालेमा पुगेका प्रतियोगीले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।

फिनालेका लागि निर्णायक मण्डलसमेत तय भइसकेको छ । निर्णायकमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल–२०२१’की विजेता तथा अभिनेत्री एवं मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल–२०२४’का विजेता हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक तथा फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहनुभएको छ ।

निर्णायक मण्डलमा रहनुभएका याङ युई सिङ कोरियाली फेसन क्षेत्रमा परिचित नाम हुनुहुन्छ । उहाँ एसिया मोडल फेस्टिभलसँग आबद्ध हुनुका साथै कोरियाली फेसन शोमा समेत सक्रिय रहँदै आउनुभएको छ । ग्रान्ड फिनालेका लागि उहाँ नेपाल आइसक्नुभएको आयोजकले जनाएको छ ।

‘फेस अफ नेपाल–२०२६’ अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो । प्रतियोगिताले नेपाली मोडल तथा फेसन क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्य राखेको आयोजकको भनाइ छ ।

फिनालेको नयाँ मिति तय भएसँगै प्रतियोगीहरू अन्तिम तयारीमा जुट्ने भएका छन् । अब सेप्टेम्बर ६ मा हुने ग्रान्ड फिनालेबाट महिला तथा पुरुषतर्फका विजेता चयन गरिनेछ । विपद्का कारण कार्यक्रम केही दिन पछि सरे पनि प्रतियोगितालाई निर्धारित स्वरूपमै सम्पन्न गर्ने तयारीमा आयोजक रहेको छ ।

आयोजकले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको स्पष्ट पारेको छ । अब नयाँ मितिमा हुने फिनालेले नेपाली फेसन तथा मोडलिङ क्षेत्रका प्रतिभालाई पुनः एकै मञ्चमा प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्