प्रिमियर कपमा नेपालको दबदबा, मलेसियामाथि सहज जित

 

काठमाडौँ, १९ भदौ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी यात्रा जारी राखेको हो ।

मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१ दशमलव ४ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै अविजित ४५ रन जोड्नुभयो । उहाँले ६८ बलको सामना गर्दै चार चौका प्रहार गर्नुभयो । लक्ष्य सामान्य भए पनि नेपालले सुरुआती चरणमा केही विकेट गुमाएपछि अर्जुनले इनिङ्स सम्हाल्दै टोलीलाई सहज जिततर्फ अघि बढाउनुभयो ।

नेपालका लागि इसान पाण्डेले २० रन बनाउनुभयो । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० रनको योगदान दिनुभयो । मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक–एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाको इनिङ्स भने नेपाली बलरसामु लामो समय टिक्न सकेन । मलेसिया ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । सुरुआतदेखि नै नेपाली बलरले दबाब कायम राख्दा मलेसियाका ब्याटरहरूले ठूलो साझेदारी गर्न सकेनन् ।

मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन बनाउनुभयो । उहाँले ४९ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाउनुभयो । अकिल वाहिदले २४ रन, भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन बनाउनुभयो । यीबाहेक मलेसियाका अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

मलेसियाको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्नुभयो । करणले चार विकेट लिएपछि मलेसिया ठूलो योगफल बनाउनबाट रोकिएको थियो । उहाँले महत्वपूर्ण विकेट निकाल्दै घरेलु टोलीमाथि सुरुदेखि नै दबाब सिर्जना गर्नुभयो ।

त्यसैगरी ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिनुभयो । नेपाली बलरहरूको अनुशासित प्रदर्शनका कारण मलेसियाका ब्याटरले खुलेर रन बनाउन नसक्दा घरेलु टोली सामान्य योगफलमै सीमित भएको हो ।

१०४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुआतमा केही विकेट गुमाए पनि अर्जुन कुमालले एक छेउ सम्हालेर ब्याटिङ गर्नुभयो । उहाँले धैर्यपूर्वक ब्याटिङ गर्दै टोलीलाई लक्ष्यसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सामान्य लक्ष्य भएका कारण नेपालले अनावश्यक जोखिम नलिई खेल अघि बढाएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । लगातार दुई खेल जितेपछि नेपालको आत्मविश्वास थप बलियो भएको छ । ब्याटिङमा अर्जुन कुमालको धैर्यपूर्ण प्रदर्शन तथा बलिङमा करण केसीको प्रभावकारी प्रदर्शन नेपालको जितका प्रमुख आधार बने ।

लगातार दुई खेलमा जित हासिल गरेको नेपालले अब प्रतियोगितामा आफ्नो तेस्रो खेल साउदी अरेबियासँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीचको खेल यही भदौ २१ गते हुनेछ । प्रतियोगिताको आगामी चरणमा पुग्नका लागि नेपालले आफ्नो विजयी लय कायम राख्ने लक्ष्य राखेको छ ।

बहराइनपछि मलेसियालाई पनि पराजित गर्दै नेपालले प्रतियोगितामा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ । अब साउदी अरेबियाविरुद्धको खेलमा पनि जित निकाल्दै नेपाल आफ्नो स्थिति थप मजबुत बनाउने योजनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्