ताप्लेजुङ गोल्डकपको उपाधिका लागि सलहेस र फिदिम भिड्ने

काठमाडौँ, १९ भदौ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार (आज) हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छन् ।

लाखेजात्रा सञ्चालन समितिले बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै टोलीका मुख्य प्रशिक्षक तथा कप्तानले फाइनल खेल जित्दै उपाधि हात पार्ने आत्मविश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको अघिल्लो संस्करणमा उपाधि जितेको सलहेस लगातार तेस्रोपटक फाइनल पुगेको हो भने फिदिम स्पोर्टिङ क्लब पहिलोपटक फाइनल प्रवेश गरेको हो ।

सलहेस युवा क्लबका मुख्य प्रशिक्षक राजिपकुमार यादवले फाइनलमा आफ्नो टोलीले उपाधि जित्नेगरी खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँका अनुसार सलहेसले ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । त्यसयता लगातार तीन संस्करणमा फाइनल पुग्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

सलहेस दोस्रो संस्करणमा उपविजेता बनेको थियो भने तेस्रो संस्करणमा उपाधि जितेको थियो । यसपटक पनि फाइनलमा पुगेकाले उपाधि रक्षा गर्ने लक्ष्य रहेको प्रशिक्षक यादवले बताउनुभयो । गतवर्ष विदेशी खेलाडीसमेत सहभागी गराएर प्रतियोगिता जितेको स्मरण गर्दै उहाँले यसपटक विदेशी खेलाडी नभए पनि नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू टोलीमा रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो ।

सलहेसका कप्तान प्रवेश दनुवारले टोलीमा एकअर्कासँग प्रतिस्पर्धा गर्नसक्ने र समानस्तरको प्रदर्शन गर्ने क्षमता भएका खेलाडी रहेकाले फाइनलमा राम्रो नतिजा निकाल्ने बताउनुभयो । उहाँले टोलीको तयारी राम्रो रहेको र उपाधिका लागि सबै खेलाडी उत्साहित रहेको जानकारी दिनुभयो ।

यता फिदिम स्पोर्टिङ क्लब पनि आफ्नो पहिलो फाइनललाई उपाधिमा परिणत गर्ने लक्ष्यमा छ । फिदिमका मुख्य प्रशिक्षक उपेन्द्र श्रेष्ठले प्रतियोगितामा नेपालका चर्चित टोली चित्लाङ फुटबल क्लब काठमाडौं र झापा ११ लाई पराजित गर्दै फाइनलमा पुगेकाले टोलीको आत्मविश्वास उच्च रहेको बताउनुभयो ।

ताप्लेजुङ गोल्डकपका अघिल्ला संस्करणमा फिदिम सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । तर यसपटक उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक फाइनलमा पुगेपछि टोली उपाधि जित्ने योजनामा रहेको प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
फिदिमका कप्तान अनुकेश शेर्माले पहिलोपटक फाइनलमा पुगेकाले यो अवसरलाई ऐतिहासिक बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले फाइनलमा पनि अघिल्ला खेलमा जस्तै अनुशासित र योजनाबद्ध प्रदर्शन गर्दै उपाधि जित्ने प्रयास गर्ने जानकारी दिनुभयो ।

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबले झापा ११ लाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा सलहेस युवा क्लबले भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले प्रतियोगिताका सेमिफाइनल चरणका खेल सहज र प्रभावकारी रूपमा सम्पन्न भएको बताउनुभयो । सहभागी टोली तथा खेलाडीको अनुशासित प्रदर्शन र दर्शकको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रभावकारी बनाएको उहाँको भनाइ छ ।

अध्यक्ष मादेनले शुक्रबार हुने फाइनल खेलमा पनि सबै पक्षबाट सहयोगका लागि आग्रह गर्नुभएको छ । उहाँले दर्शकलाई खेल मैदानमा उपस्थित भई फाइनल खेल अवलोकन गर्नसमेत आह्वान गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ । आठ टोलीको सहभागिता रहेको प्रतियोगिता भदौ १२ गतेदेखि सुरु भएको हो । अब शुक्रबार हुने फाइनलसँगै चौथो संस्करणको ताप्लेजुङ गोल्डकप सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्