प्रधानमन्त्रीद्वारा पुन र घिसिङसँग छलफल,जलवायु न्यायका लागि कूटनीतिक पहल गर्न सुझाव

 

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले नेकपा नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । बिहीबार भएको छलफलमा नेता पुन र घिसिङले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि प्रभावित नागरिकको खोज, उद्धार, उपचारलाई प्रभावकारी बनाउन सुझाव दिएका छन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धार, प्रभावित क्षेत्रमा सडक सञ्जाल पुनःस्थापना, राहत सामग्रीको प्रभावकारी वितरण, होल्डिङ सेन्टरमा रहेका नागरिकको स्वास्थ्य तथा सामाजिक सुरक्षालगायत विषयमा छलफल भएको थियो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले प्रधानमन्त्री शाहसँगको छलफलमा बाढी प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा लिखित र मौखिक दुवै माध्यमबाट सुझाव दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले विशेषगरी सुरुङभित्र फसेका नागरिकलाई कसरी सुरक्षित रूपमा बाहिर निकाल्न सकिन्छ भन्ने विषयमा चासो राख्नुभएको थियो ।

घिसिङले सुरुङभित्र उद्धारका लागि असाधारण वा छुट्टै प्रविधिभन्दा आवश्यक उपकरण र दक्ष उद्धार टोली समयमै घटनास्थलमा पु¥याउनु मुख्य विषय भएको बताउनुभयो । उहाँले जेसीबी, एक्स्काभेटर तथा ड्रिलिङ मेसिनजस्ता उपकरण तत्काल परिचालन गरी सुरुङको प्रवेश क्षेत्रमा रहेको डेब्रिज हटाउनुपर्ने सुझाव दिनुभएको थियो ।

उहाँका अनुसार उद्धार कार्यमा चुनौती प्रविधिको अभाव मात्र नभई घटनास्थलसम्म आवश्यक उपकरण पु¥याउन कठिनाइ पनि हो । बाढीका कारण सडक तथा यातायात संरचनामा क्षति पुगेकाले उद्धारका लागि आवश्यक सामग्री र जनशक्ति परिचालनमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

उद्धार तथा राहतका लागि नेपाली हेलिकप्टरलाई उपलब्ध क्षमताअनुसार परिचालन गरिए पनि आवश्यकता परे विदेशबाट समेत हेलिकप्टर तथा अन्य आवश्यक साधन ल्याएर काम अघि बढाउनुपर्ने सुझाव आफूहरूले दिएको घिसिङले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहले आवश्यक परे जुनसुकै अवस्थामा पनि साधनस्रोत परिचालन गरेर उद्धार तथा राहतको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।

घिसिङले विपद्को सुरुवाती चरणमा हेलिकप्टर उद्धार तथा राहतको प्रमुख माध्यम बनेको उल्लेख गर्दै त्यसको परिचालनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । हेलिकप्टर परिचालन भएको मात्र पर्याप्त नहुने र त्यसबाट प्रभावित नागरिकसम्म उद्धार तथा राहतको अपेक्षित परिणाम पुगेको छ कि छैन भन्ने विषय महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

बाढीपछिको अवस्थालाई सहज बनाउन सडक सञ्जाल पुनःस्थापनालाई तत्काल प्राथमिकता दिनुपर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको घिसिङले बताउनुभयो । विशेषगरी स्याफ्रुबेसीसम्म सडक सम्पर्क पुनःस्थापित गर्न आवश्यक स्थानमा बेलिब्रिज निर्माणको काम अघि बढाउन सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।

सडक सञ्चालनमा आएपछि उद्धार टोली, राहत सामग्री तथा अन्य आवश्यक सामग्री प्रभावित क्षेत्रमा पु¥याउन सहज हुने भएकाले सडक कनेक्टिभिटीलाई अहिलेको प्रमुख प्राथमिकतामध्ये एक बनाउनुपर्ने घिसिङको धारणा छ । कहाँ–कहाँ बेलिब्रिज निर्माण गर्न सकिन्छ र स्याफ्रुबेसीसम्म सडक कसरी छिटो जोड्न सकिन्छ भन्ने विषयमा पनि विस्तृत छलफल भएको उहाँले बताउनुभयो ।

बाढीबाट प्रभावित विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा ठूलो संख्यामा नागरिक बसिरहेका कारण उनीहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने विषय उठाइएको छ । घिसिङले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित रूपमा राख्ने विषयमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीबाट जानकारी पाएको बताउनुभयो ।

होल्डिङ सेन्टरमा बसिरहेका नागरिकमध्ये बालबालिकाको व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्री शाहले चासो राख्नुभएको उहाँले जानकारी दिनुभयो । प्रभावित बालबालिकालाई आवश्यक संरक्षणसहित काठमाडौँ ल्याएर राख्ने विषयमा समेत छलफल भएको उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनमा भएको ढिलाइप्रति बढिरहेको असन्तुष्टिका विषयमा पनि प्रधानमन्त्रीसँग ध्यानाकर्षण गराइएको घिसिङले बताउनुभयो । घटनास्थलमै पुग्दा शव व्यवस्थापनसँग सम्बन्धित समस्या देखिएको उल्लेख गर्दै उहाँले त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विपद् व्यवस्थापनमा देखिएका कठिनाइको एउटा कारण पर्याप्त पूर्वतयारीको अभाव भएको घिसिङले स्वीकार गर्नुभयो । उहाँले नेपालमा विपद्को सामना गर्न आवश्यक पूर्वतयारी अपेक्षाअनुसार हुन नसकेको भए पनि यसपटकको विपद् असाधारण रूपमा ठूलो रहेकाले व्यवस्थापनमा थप चुनौती देखिएको बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापनका क्रममा देखिएका कमजोरीलाई सुधार्दै सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । तत्कालीन उद्धार तथा राहतसँगै आगामी दिनमा यस्ता विपद्का लागि आवश्यक पूर्वतयारी, उपकरण, दक्ष जनशक्ति तथा आपत्कालीन यातायात सञ्जालको विकासमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

यसैबीच प्रधानमन्त्री शाहले नेकपा नेता वर्षमान पुनसँग पनि भेट गरी बाढीपछिको अवस्थाका विषयमा छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि भइरहेको खोज, उद्धार, उपचार तथा राहत वितरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा बाढीबाट प्रभावित पूर्वाधारको पुनर्निर्माण र पुनःसञ्चालनका विषयमा समेत कुराकानी भएको थियो । बाढीका कारण क्षतिग्रस्त सडक, भौतिक संरचना तथा अन्य आवश्यक पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने काम उद्धार तथा राहतसँग प्रत्यक्ष जोडिएकाले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा नेता पुनले यसअघि प्रतिनिधिसभामा पनि उठाउनुभएको जलवायु परिवर्तन, विपद् जोखिम तथा अन्तरराष्ट्रियस्तरमा नेपालको दाबीका विषयलाई निरन्तरता दिनुभएको बताइएको छ । उहाँले हिमालय क्षेत्रमा बढ्दो विपद्को जोखिमलाई जलवायु परिवर्तनसँग जोडेर अन्तरराष्ट्रिय मञ्चमा उठाउनुपर्ने र जलवायु न्यायका लागि नेपालले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्