काठमाडौँ, १९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनुभएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।
विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।
स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव कायम गर्न र सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
यसैगरी,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।
गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याएको उल्लेख गर्नुभएको छ ।
यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ । यस पर्वमा शिव र पार्वती ९गौरा०को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ । पर्वमा गहुँ, धान, केराउ, मास र गहतजस्ता पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरी मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।
गौरा पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी आदिका माध्यमबाट एकअर्काका दुःख र सुख बाँड्ने गर्दछन् । राष्ट्रपतिले यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति–पत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्