काठमाडौँ, १७ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहँदा हालसम्म १ हजार एक सय २७ जनाको शव फेला परेको छ भने १२ हजारभन्दा बढी बाढी प्रभावितको उद्धार गरिएको छ । ठूलो मानवीय क्षति भएको छ । अझै चार हजार ५९९ जना सम्पर्कविहीन रहेकाले प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव पहिचान तथा व्यवस्थापनको कामलाई निरन्तरता दिइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार एक सय २७ जनाको शव फेला परेको छ । सबैभन्दा धेरै शव चितवनमा ३२१ वटा भेटिएका छन् । त्यसपछि नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीमा परी २७९ जना घाइते भएका छन् । तीमध्ये उपचारपछि विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् । विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा व्यवस्थापनका लागि २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको पनि प्राधिकरणले जनाएको छ ।
बाढीपछि उद्धार गरिएका नागरिकको सङ्ख्याबारे सरकारी निकायबाट फरक–फरक विवरण सार्वजनिक भएका छन् । प्राधिकरणले हालसम्म ११ हजार ८१४ जनाको उद्धार भएको जनाएको छ । नेपाल प्रहरीले भने आफ्नो विवरणअनुसार भोटेकोशी हुँदै त्रिशूली नदी क्षेत्रमा प्रभावितमध्ये ४ हजार २७० जनाको उद्धार भएको जनाएको छ ।
नेपाल प्रहरीका अनुसार उद्धार गरिएकामध्ये तीन हजार तीन पुरुष, एक हजार २५४ महिला र पहिचान नखुलेका १३ जना छन् । प्रहरीले अन्य सुरक्षा निकाय तथा विभिन्न पक्षको संयुक्त प्रयासबाट १२ हजारभन्दा बढी बाढी प्रभावितको उद्धार भइसकेको पनि स्पष्ट गरेको छ ।
यी तथ्याङ्क फरक हुनुमा उद्धारको क्षेत्र, विवरण सङ्कलनको समय तथा सम्बन्धित निकायले समेटेको जनसङ्ख्याको दायरामा अन्तर हुन सक्ने देखिन्छ । उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको नेपाल प्रहरीले जनाएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।
उद्धार कार्य तीव्र बनाइए पनि ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन छन् । नेपाल प्रहरीका अनुसार चार हजार ५९९ जना अझै बेपत्ता छन् ।
प्रहरीको विवरणअनुसार बेपत्ता हुनेमध्ये दुई हजार ९८० नेपाली नागरिक छन्। तीमध्ये दुई हजार ३१२ पुरुष र ३६८ महिला रहेका छन् । त्यस्तै विदेशी नागरिकतर्फ २५१ पुरुष र ३३० महिला गरी ५८१ जना बेपत्ता रहेको विवरण छ । फोनबाट टिपाइएका थप एक हजार ३२९ जनालाई पनि सम्पर्कविहीनको सूचीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठूलो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कविहीन रहेकाले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई थप प्राथमिकताका साथ अघि बढाइएको छ । सुरक्षाकर्मी तथा सरकारी संयन्त्रलाई सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ ।
यस्तै, बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
यता,बाढीले ठूलो मानवीय क्षति पु¥याएसँगै शव पहिचान तथा व्यवस्थापन पनि चुनौती बनेको छ । प्रहरीले हालसम्म फेला परेका एक हजार १० शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष तथा ३५१ जना आंशिक मानव अङ्गसहितका रहेको जनाएको छ । पहिचान हुन नसकेका शव तथा शरीरका अङ्गको व्यवस्थापन कानुनी प्रक्रिया पूरा गरी भइरहेको छ । प्रहरीले शव पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया पनि अघि बढाएको छ ।
नवलपरासी पूर्वमा मात्रै बाढीपछि नारायणी नदीलगायतका क्षेत्रमा भेटिएका २१६ शवमध्ये १५९ वटाको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिचान हुन नसकेका शवमध्ये केहीलाई कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन तथा देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनि गाडेर अस्थायी रूपमा व्यवस्थापन गरिएको छ ।
त्यहाँ व्यवस्थापन गरिएका शवमध्ये महिलाका २९, पुरुषका ४७, बालक र बालिकाका सात–सात तथा ६९ वटा मानव अङ्ग रहेको प्रहरीले जनाएको छ । जिल्लामा फेला परेकामध्ये १७ शव पहिचान गरी आफन्तलाई बुझाइएको छ
त्यस्तै कास्कीमा पनि विभिन्न जिल्लाबाट पहिचान तथा परीक्षणका लागि ल्याइएका १०२ शवमध्ये ७८ वटालाई कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १९ शव पहिचान गरी आफन्तलाई बुझाइएको छ ।प्रहरीका अनुसार हालसम्म फेला परेका शवमध्ये ५८१ शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । यसमा १२१ महिला, १९८ पुरुष तथा पहिचान नखुलेका २६२ शव रहेका छन् । थप ५६ शव मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ ।
भोटेकोशी र त्यसपछि त्रिशूली नदी क्षेत्रमा आएको बाढीले मानव जीवनसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पु¥याएको छ । तत्कालको प्राथमिकता बेपत्ता व्यक्तिको खोजी, जीवित नागरिकको उद्धार, घाइतेको उपचार र प्रभावितलाई राहत उपलब्ध गराउनु भए पनि त्यससँगै शव पहिचान तथा सम्मानजनक व्यवस्थापनको विषय पनि उत्तिकै संवेदनशील बनेको छ ।
बाढीबाट विस्थापित तथा उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक खाद्यान्न तथा स्वास्थ्य सेवा उपलब्ध गराउने र परिवारबाट छुट्टिएका व्यक्तिको विवरण मिलाउने काम पनि सँगसँगै अघि बढाउनुपर्ने अवस्था छ ।
विशेषगरी अझै हजारौँ व्यक्ति सम्पर्कविहीन रहेको अवस्थामा खोजी कार्यलाई प्रभावकारी बनाउन प्राप्त सूचनाको एकीकृत अभिलेख आवश्यक देखिएको छ ।
विभिन्न सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा अन्य सहयोगी संस्थाबाट संकलित विवरणबीच समन्वय हुन सके खोजी कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ ।
शव तथा शरीरका अङ्गको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणलाई अघि बढाएको छ । सम्पर्कविहीन व्यक्तिका पहिलो तहका नातेदारबाट नमुना लिएर फेला परेका शव तथा शरीरका अङ्गसँग डीएनए प्रोफाइल मिलान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउन सक्ने प्रहरीले जनाएको छ । त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
विदेशमा रहेका पहिलो तहका नातेदारले आफू बसेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक माध्यममार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ ।
प्रहरीका अनुसार शव पहिचानका लागि सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचानसम्बन्धी विवरण, सम्भव भए सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए परीक्षण प्रतिवेदन तथा नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्छ । बाढीबाट प्रभावित क्षेत्रमा उद्धारको पहिलो चरणसँगै अब खोजी, पहिचान, राहत र पुनःस्थापनाको चुनौती पनि थपिँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्