ताप्लेजुङ, १६ भदौ । रोमाञ्चक प्रतिस्पर्धापछि साविक विजेता सलहेस युथ क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो क्वार्टरफाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै सलहेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेल निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा टुंगिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रस्तुत गरे पनि निर्धारित समयभित्र थप गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टीसम्म पुगेको थियो ।
खेलको सुरुआतदेखि नै दुवै टोलीले गोलका अवसर सिर्जना गर्ने प्रयास गरेका थिए । पहिलो हाफमै सलहेसले अग्रता लिँदै खेल आफ्नो पक्षमा पार्ने संकेत गरेको थियो । तर उसको अग्रता लामो समय टिक्न सकेन । केही मिनेटमै सातदोबाटोले जवाफी गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि निरन्तर प्रयास गरे पनि गोल थप्न नसक्दा खेलको रोमाञ्चकता पेनाल्टी सुटआउटसम्म पुगेको थियो । पेनाल्टीमा सलहेसका फागुराम थारु, सनिष श्रेष्ठ, निसकुमार श्रेष्ठ र दीप कार्कीले गोल गरे ।
सलहेसका रोहन कार्की भने पेनाल्टीमा गोल गर्न असफल भए ।सातदोबाटोका तर्फबाट विशाल भण्डारी, शिला र श्याम मुर्मुले पेनाल्टीमा गोल गरे । उसका विश्व लामा र सामेल सुनुवारले गोल गर्न नसकेपछि सलहेसको जित सुनिश्चित भयो । सलहेसको जितमा गोलरक्षक दीप कार्कीको भूमिका पनि महत्वपूर्ण रह्यो । पेनाल्टी सुटआउटमा दबाबबीच टोलीलाई सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरेका कार्की खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कारस्वरूप सात हजार रुपैयाँ प्राप्त गरे ।
सातदोबाटोलाई पराजित गरेसँगै सलहेस प्रतियोगिताको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ ।यसअघि उद्घाटन खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङ र दोस्रो क्वार्टरफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर विजयी हुँदै अन्तिम चारमा प्रवेश गरिसकेका छन् । पराजित आयोजक ताप्लेजुङ–११ र चित्लाङ फुटबल क्लब काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब सेमिफाइनलमा स्थान बनाउने अन्तिम टोलीको टुंगो सोमबार लाग्नेछ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा–११बीच प्रतिस्पर्धा हुँदैछ । आठ टोलीको सहभागिता रहेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ पाउनेछ । यस वर्ष सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले दर्शकका लागि पनि पुरस्कारको व्यवस्था गरेको छ । टिकट काटेर खेल हेर्न आउनेमध्ये एक भाग्यशाली दर्शकलाई स्कुटर उपहार प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
लाखेजात्राको अवसरमा विसं २०२९ सालदेखि विभिन्न नाममा हुँदै आएको यो फुटबल प्रतियोगिता पछिल्लो चार वर्षदेखि ‘ताप्लेजुङ गोल्डकप’का रूपमा सञ्चालन हुँदै आएको हो ।
प्रतिक्रिया दिनुहोस्