काठमाडौँ, ९ भदौ । साना तथा मझौला व्यवसायमा लगानी बढाउने उद्देश्यसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ५ दशमलव ७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक गरेको छ । व्यवसाय विस्तार तथा नयाँ उद्यममा लगानी गर्न चाहने व्यवसायी र उद्यमीलाई लक्षित गर्दै बैंकले यस्तो योजना अघि सारेको हो ।
बैंकका अनुसार नयाँ योजनाअन्तर्गत उपलब्ध हुने ५ दशमलव ७५ प्रतिशत ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ । स्थिर ब्याजदरको व्यवस्थाले कर्जा लिने व्यवसायीलाई निश्चित अवधिसम्म ब्याजदर बढ्ने जोखिमबाट केही हदसम्म सुरक्षित राख्ने अपेक्षा गरिएको छ ।
‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित सञ्चालन गरिएको एसएमई कर्जा योजनाले व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त वित्तीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
नेपालमा साना तथा मझौला व्यवसायको संख्या ठूलो भए पनि पर्याप्त पुँजीको अभाव, महँगो वित्तीय लागत तथा चालु पुँजी व्यवस्थापन व्यवसायीका प्रमुख चुनौतीका रूपमा रहने गरेका छन् । यस्तो अवस्थामा तुलनात्मक रूपमा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकको योजनाले व्यवसायीलाई आफ्नो लगानी व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
योजनामार्फत व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा लिन सक्नेछन् । बैंकले कर्जाको प्रकृति र व्यवसायको आवश्यकताका आधारमा वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ ।
विशेषगरी सञ्चालनमा रहेका साना तथा मझौला व्यवसायले आफ्नो क्षमता विस्तार गर्न थप पुँजी आवश्यक पर्दा बैंकको कर्जा उपयोग गर्न सक्नेछन् । त्यस्तै नयाँ शाखा वा सेवा विस्तार, उपकरण तथा व्यवसाय सञ्चालनका लागि आवश्यक लगानी र दैनिक कारोबार व्यवस्थापनका लागि समेत कर्जाको उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
एनआईएमबीले एसएमई क्षेत्रलाई रोजगारी सिर्जना, स्थानीय उत्पादन तथा उद्यमशीलता विकासको महत्वपूर्ण आधारका रूपमा हेर्दै आएको छ । बैंकका अनुसार उद्यमी तथा व्यवसायीलाई वित्तीय पहुँच विस्तार गर्दै उनीहरूको व्यवसायिक विकासमा सहकार्य गर्ने उद्देश्यले नयाँ योजना ल्याइएको हो ।
बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ । यसबाट राजधानी तथा ठूला सहरमा मात्र नभई विभिन्न जिल्लामा सञ्चालन भइरहेका साना तथा मझौला व्यवसायले पनि बैंकको कर्जा योजनाबारे जानकारी लिन सक्नेछन् ।
एनआईएमबीका अनुसार मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पु¥याउनु योजनाको मुख्य उद्देश्य हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबीच कर्जा लगानी विस्तारका लागि विभिन्न सहुलियतपूर्ण योजना ल्याउने प्रतिस्पर्धा बढिरहेका बेला एनआईएमबीको नयाँ एसएमई कर्जा योजनाले साना तथा मझौला व्यवसायीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । यद्यपि, कर्जा प्राप्तिका लागि बैंकले तोकेका आवश्यक मापदण्ड तथा प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्