काठमाडौं, ३ भदौ । नेपालमा जलविद्युत् आयोजना विकासको आकार विस्तार हुँदै जाँदा निजी क्षेत्रबाट ठूला परियोजना अघि बढाउने क्रम पनि तीव्र बन्दै गएको छ । यही क्रममा जलविद्युत् उद्यमी सुसन कर्माचार्यको नेतृत्व तथा संलग्नतामा ६८७.७९ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माण सम्पन्न, निर्माणाधीन तथा वित्तीय व्यवस्थापनको चरणमा पुगेका छन् ।
कर्माचार्यसँग सम्बन्धित आयोजनामध्ये सबैभन्दा ठूलो ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजना हो । एससी पावर कम्पनी प्रालिले प्रवद्र्धन गरिरहेको यो आयोजना निजी क्षेत्रबाट अघि बढाइएका ठूला जलविद्युत् परियोजनामध्ये एक हो । आयोजनाको २९८ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ भने बाँकी क्षमताका लागि प्रक्रिया अघि बढाइएको छ ।
ठूला जलविद्युत् आयोजना निर्माणमा सबैभन्दा महत्वपूर्ण पक्षमध्ये वित्तीय स्रोत जुटाउनु पनि हो । तिला–१ को वित्तीय व्यवस्थापनका लागि एनएमबी बैंक लिमिटेड अगुवा बैंकका रूपमा रहेको छ । ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् । अन्य बैंक तथा वित्तीय संस्थाको समेत आयोजनामा सहभागिता रहेको जनाइएको छ ।
तिला–१ को वित्तीय व्यवस्थापनको चरणसम्म पुग्नुलाई निजी क्षेत्रको ठूलो जलविद्युत् आयोजना विकासमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । ठूलो लागत, लामो निर्माण अवधि र वित्तीय जोखिम रहने भएकाले यस्ता परियोजनामा लगानी जुटाउन प्रवद्र्धक कम्पनीका लागि चुनौतीपूर्ण हुने गर्छ ।
कर्माचार्यको संलग्नतामा २०३ मेगावाटको माथिल्लो बूढीगण्डकी आंशिकजलाशय आयोजना पनि अघि बढिरहेको छ । कैलाश इनर्जी प्रालिमार्फत विकास भइरहेको यस आयोजनाको प्रसारण सम्झौता भइसकेको छ भने विद्युत् खरिद सम्झौता (पीपीए)को प्रक्रियामा रहेको जनाइएको छ ।
तिला–१ र माथिल्लो बूढीगण्डकी मात्र हेर्दा पनि कर्माचार्यसँग सम्बन्धित ६४३ मेगावाट क्षमताका ठूला आयोजना वित्तीय व्यवस्थापन तथा आयोजना विकासको महत्वपूर्ण चरणमा पुगेका छन् । यी आयोजना निर्माणमा गएर निर्धारित समयमै सम्पन्न भएमा नेपालको विद्युत् उत्पादन क्षमता विस्तारमा समेत उल्लेख्य योगदान पुग्ने देखिन्छ ।
ठूला आयोजना अघि बढाइरहँदा कर्माचार्यको संलग्नता साना तथा मध्यम आयोजनामा पनि देखिन्छ । कास्कीको सिक्लेसमा निर्माण भएको २४ मेगावाटको मादमे खोला जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको छ । मादमे खोला हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भएको यो आयोजना उहाँको नेतृत्वमा सम्पन्न भएको महत्वपूर्ण परियोजना हो ।
त्यसैगरी सिन्धुपाल्चोकको ७.२७ मेगावाटको याम्बालिङ खोला र भोजपुरको ५ मेगावाटको पिखुवा खोला पनि निर्माण सम्पन्न भई सञ्चालनमा छन् । यी आयोजनासहित हालसम्म उहाँको संलग्नतामा ३६.२७ मेगावाट विद्युत् उत्पादन क्षमता सञ्चालनमा आइसकेको छ ।
निर्माणाधीनतर्फ बागलुङमा ४.५ मेगावाटको मध्यदरम खोला ‘बी’ र ४.०२ मेगावाटको मध्यदरम खोला–ए रहेका छन् । यी दुई आयोजनाको कुल क्षमता ८.५२ मेगावाट छ ।
यसरी सञ्चालनमा रहेका, निर्माणाधीन र वित्तीय व्यवस्थापनको चरणमा रहेका आयोजनालाई जोड्दा कुल क्षमता ६८७.७९ मेगावाट पुग्छ । यसले एउटै व्यावसायिक समूहबाट विभिन्न आकारका जलविद्युत् आयोजना विकास गर्ने क्रमलाई देखाउँछ ।
नेपालमा विद्युत् उत्पादन बढाउन सरकारले ठूला जलविद्युत् आयोजना अघि बढाउने नीति लिँदै आएको छ । तर सरकारी तथा निजी दुवै क्षेत्रका लागि ठूलो क्षमताका आयोजना वित्तीय रूपमा व्यवस्थापन गर्नु, प्रसारण पूर्वाधार सुनिश्चित गर्नु र निर्माणलाई समयमै अघि बढाउनु चुनौतीपूर्ण छ ।
यस्तो अवस्थामा तिला–१ र माथिल्लो बूढीगण्डकीजस्ता परियोजना निर्माणमा प्रवेश गर्नु निजी क्षेत्रका लागि पनि महत्वपूर्ण परीक्षण हुनेछ । आयोजना सफलतापूर्वक निर्माण सम्पन्न भई विद्युत् उत्पादनमा आएमा यसले सम्बन्धित प्रवद्र्धकको व्यावसायिक विस्तारसँगै देशको ऊर्जा उत्पादनमा समेत थप योगदान पु¥याउनेछ ।
अबको मुख्य चुनौती भनेको परियोजना घोषणा वा वित्तीय व्यवस्थापनमा सीमित नरही आयोजना समयमै निर्माण सम्पन्न गर्नु हो । तिला–१ र माथिल्लो बूढीगण्डकीजस्ता ठूला आयोजना कार्यान्वयनमा गएसँगै निजी क्षेत्रको जलविद्युत् विकास क्षमता र लगानी परिचालनको वास्तविक परिणाम देखिनेछ ।
प्रतिक्रिया दिनुहोस्