महेन्द्रनगर, ३ भदौ । नेपाली बक्सिङले एसियन खेलकुदमा लामो समयदेखि भोग्दै आएको पदकको खडेरी अन्त्य गर्ने लक्ष्यसहित तयारीलाई तीव्र बनाएको छ । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औँ एसियन खेलकुदमा नेपाली बक्सिङ टोली पदक जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । टोलीको तयारी र प्रशिक्षणको नेतृत्व भने पूर्व बक्सर तथा प्रशिक्षक दीपक महर्जनले गरिरह्नु भएको छ ।
नेपालले एसियन खेलकुदको बक्सिङमा पछिल्लोपटक सन् २०१० मा पदक जितेको थियो । चीनको ग्वाङ्झाउमा सम्पन्न १६औँ एसियन खेलकुदमा नेपाली बक्सर दीपक महर्जनले कांस्य पदक जित्दै नेपाललाई बक्सिङतर्फ एक मात्र पदक दिलाएका थिए । त्यसयता भएका तीन संस्करणमा नेपाली बक्सर पदकविहीन रहँदै आएका छन् ।
खेलाडीका रूपमा नेपाललाई एसियन खेलकुदमा पदक दिलाएका महर्जन अहिले प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । करिब एक दशकदेखि राष्ट्रिय खेलकुद परिषद्मा बक्सिङ प्रशिक्षकका रूपमा कार्यरत उहाँले यसपटक खेलाडीका रूपमा जितेको गौरवलाई प्रशिक्षकका रूपमा दोहो¥याउने चुनौती आफ्नो टोलीसामु रहेको बताउनु भयो ।
भारतको आसामस्थित स्पोट्र्स अथोरिटी अफ इन्डियामा नेपाली बक्सिङ टोलीले अहिले वैदेशिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षणमा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका तथा विश्वस्तरका खेलाडीहरूसँग अभ्यास गर्ने अवसर पाइरहेका छन् । प्रशिक्षक महर्जनका अनुसार यस किसिमको अभ्यासले नेपाली खेलाडीको आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुगेको छ ।
महर्जनले एसियन खेलकुदमा नेपालले बक्सिङबाट पदकको आशा राख्न सक्ने अवस्था रहेको बताउनु भयो । उहाँका अनुसार खेलमा मेहनतसँगै प्रदर्शनका दिन भाग्यले पनि भूमिका खेल्ने भए पनि नेपाली टोलीले पदकका लागि आवश्यक तयारी गरिरहेको छ ।
नेपाली बक्सिङ टोलीले एसियन खेलकुदको तयारी केही समयदेखि नै अघि बढाउँदै आएको छ । महर्जनका अनुसार टोलीले करिब तीन वर्षअघिदेखि प्रतियोगितालाई लक्षित गरी आन्तरिक तयारी थालेको थियो । अहिले आसाममा भइरहेको प्रशिक्षणलाई अझ करिब एक महिना निरन्तरता दिने योजना रहेको छ ।
नेपालका लागि पछिल्लो समय बक्सिङमा सम्भावना देखाउने खेलाडीमध्ये चन्द्रबहादुर थापा पनि प्रमुख हुन् । महर्जनकै नेतृत्वमा नेपाली टोलीले सन् २०२५ मा विश्व च्याम्पियनसिपमा सहभागिता जनाउँदा चन्द्रबहादुरले कांस्य पदक हात पार्न सफल हुनुभएको थियो । सोही प्रदर्शनले एसियन खेलकुदमा पनि नेपाली बक्सिङबाट पदकको सम्भावना बढाएको प्रशिक्षक महर्जनको विश्वास छ ।
यसपटक नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपाल प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले नेपालको प्रतिनिधित्व गर्नेछन् । सातै खेलाडीले एसियन खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रशिक्षण गरिरहेका छन् ।
टोलीसँग प्रशिक्षकका रूपमा दीपक महर्जन र राज श्रेष्ठ तथा व्यवस्थापनतर्फ नेपाल बक्सिङ सङ्घका महासचिव मानबहादुर भण्डारी रह्नु भएको छ । आसामको प्रशिक्षणमा विश्व च्याम्पियनसिप र ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका खेलाडीहरूसँग अभ्यास गर्न पाउनु नेपाली खेलाडीका लागि महत्वपूर्ण अवसर बनेको छ ।
लामो समयदेखि एसियन खेलकुदको बक्सिङमा पदकविहीन रहेको नेपालका लागि जापानमा हुने प्रतियोगिता आफ्नो पुरानो विरासत फर्काउने महत्वपूर्ण अवसर बनेको छ । सन् २०१० मा खेलाडीका रूपमा पदक जितेका दीपक महर्जन यसपटक प्रशिक्षकका रूपमा नेपाली बक्सिङलाई पुनः पदकको मञ्चमा पु¥याउने अभियानमा लाग्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्