प्रदर्शनको तयारीमा ‘मास्टर्नी’, अग्रिम टिकट बुकिङ खुला

काठमाडौं, ३ भदौ । यहि भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘मास्टर्नी’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा देशका प्रमुख मल्टिप्लेक्स तथा चलचित्र हलले सिनेमाको शो खुलाउन थालेका हुन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित अन्य केही मल्टिप्लेक्सले ‘मास्टर्नी’का लागि अग्रिम टिकट बिक्री सुरु गरेका छन् । दर्शकको माग र हलहरूको उपलब्धताअनुसार शो संख्या क्रमशः बढ्दै जाने निर्माण तथा वितरण पक्षले जनाएको छ । वितरक रोहित कट्टेलका अनुसार प्रदर्शनको तीन दिनअघि नै अग्रिम बुकिङ खुलाइएको भए पनि आगामी दिनमा अन्य हलमा समेत थप शो सार्वजनिक हुँदै जानेछन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको ‘मास्टर्नी’लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीको प्रमाणपत्र दिएको छ । ‘ए’ प्रमाणपत्र प्राप्त गरेसँगै १६ वर्षभन्दा माथिका दर्शकले मात्र यो सिनेमा हेर्न पाउनेछन् । सिनेमाको कथावस्तु, प्रस्तुति तथा विषयवस्तुलाई ध्यानमा राख्दै ‘ए’ श्रेणीमा वर्गीकरण गरिएको निर्माण पक्षले जनाएको छ ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको सिनेमामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ । प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला तथा अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ ।

‘मास्टर्नी’को अर्को विशेषता यसको कथा पनि हो । अभिनेत्री प्रियंका कार्कीले सिनेमाको कथा लेख्नु भएको हो । पटकथा लेखनको जिम्मेवारी शान बस्नेतले सम्हाल्नु भएको छ । संवाद लेखनमा भने प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ । यसले सिनेमालाई अभिनयसँगै लेखन पक्षबाट पनि फरक बनाउने निर्माण पक्षको विश्वास छ ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मास्टर्नी’मा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ । चलचित्र निर्माणमा नयाँ पुस्ताका विषय र समकालीन प्रस्तुतिलाई प्राथमिकता दिइएको जनाइएको छ ।

सिनेमाको संगीत पक्षमा रोहित शाक्य र त्रिशला गुरुङको योगदान रहेको छ । क्राइम थ्रिलर कथावस्तुमा आधारित सिनेमामा संगीतले कथाको वातावरण र भावनालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

चलचित्रको प्रचारप्रसार तथा सार्वजनिक सामग्रीलाई पनि आकर्षक बनाउने तयारी गरिएको छ । सिनेमाको पोस्टर तथा प्रचार सामग्रीको डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेन र ज्ञानु संगम खड्काले सम्हाल्नु भएको छ ।

‘मास्टर्नी’लाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ । देशभरका हलमा प्रदर्शनको तयारी भइरहँदा अग्रिम टिकट बुकिङ खुल्नुले सिनेमाप्रति दर्शकको प्रारम्भिक चासो बढेको संकेत गरेको निर्माण पक्षको बुझाइ छ ।

क्राइम थ्रिलर विधामा नेपाली सिनेमाको संख्या तुलनात्मक रूपमा कम रहेको अवस्थामा ‘मास्टर्नी’ले फरक स्वाद दिन सक्ने अपेक्षा गरिएको छ । कलाकारको बलियो टोली, नयाँ कथावस्तु र थ्रिलर शैलीको प्रस्तुतिका कारण सिनेमा दर्शकका लागि प्रतीक्षित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्