काठमाडौं, ३ भदौ । नेपाली नारीहरूको प्रमुख सांस्कृतिक पर्व तीज नजिकिँदै गर्दा गायिका उषा मलाहा ‘सिम्रन’ले नयाँ तीज गीत ‘चट्टै परेर’ सार्वजनिक गर्नुभएको छ । नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको गीत गायिका मलाहाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समय तीज गीतमा आधुनिकता र मनोरञ्जनका नयाँ शैली हाबी भइरहेका बेला ‘चट्टै परेर’ले भने मौलिक तीजको भावनालाई केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ । विशेषगरी माइतीको माया, साथी–संगीसँगको आत्मीयता, बाल्यकालका सम्झना तथा तीजका अवसरमा महिलाले अनुभव गर्ने भावनालाई गीतमा प्रस्तुत गरिएको छ ।
परम्परागत तीज संस्कृतिका गीत तथा भाकाहरू क्रमशः आधुनिक संगीतको प्रभावमा पर्दै गइरहेका अवस्थामा मौलिक शब्द, नेपाली समाजको परिवेश र तीजसँग जोडिएका भावनालाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको गायिका उषा मलाहा ‘सिम्रन’ले बताउनु भयो । उहाँका अनुसार नयाँ पुस्तालाई समेत नेपाली मौलिक तीज संस्कृति र यसको सामाजिक महत्वसँग जोड्ने उद्देश्यले गीत तयार गरिएको हो ।
गीत ‘चट्टै परेर’मा डीपी खनालको शब्द रहेको छ भने संगीत देबेन्द्र बरालको रहेको छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गर्नुभएको छ । किशोर थापाले मिक्सिङ तथा मास्टरिङ, गीतको रेकर्डिङ सुवास सिन्चुरीले अमेरिकास्थित एसएम स्टुडियोमा गर्नुभएको हो ।
गीतको श्रव्यसँगै यसको दृश्य पक्षलाई पनि विशेष महत्व दिइएको छ । भिडियोमा नेपाली समाजको मौलिक जीवनशैली, तीजको सांस्कृतिक पक्ष तथा नारीहरूको आपसी सम्बन्धलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । ठेट नेपाली शब्द र भावनालाई दृश्यमा समेत समेटिएकाले भिडियोले गीतको मूल मर्मलाई थप प्रभावकारी बनाउने निर्माण पक्षको विश्वास छ ।
भिडियोमा सुनिशा बजगाईं, सुशीला थापालगायत कलाकारको अभिनय रहेको छ । तीजको परिवेश, महिलाबीचको आत्मीयता तथा सांस्कृतिक गतिविधिलाई उनीहरूको अभिनयमार्फत प्रस्तुत गरिएको छ । भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गर्नुभएको छ भने निर्देशन शान थापाले गर्नुभएको छ ।
गीतको छायांकन दिनेश पराजुली, भिडियो सम्पादन विवेक सुनारले गर्नुभएको छ । गायिका उषा मलाहा ‘सिम्रन’ले यसअघि पनि तीज तथा नेपाली मौलिक संस्कृति झल्काउने गीतमार्फत आफ्नो सांगीतिक पहिचान बनाउँदै आउनु भएको छ । नयाँ गीतमार्फत पनि उहाँले मौलिक तीज भाकालाई समकालीन पुस्तामाझ पु¥याउने प्रयास गर्नुभएको छ ।
तीज नेपाली समाजमा विशेषगरी महिलाको भावनात्मक अभिव्यक्ति, माइतीसँगको सम्बन्ध र सामाजिक आत्मीयता प्रस्तुत गर्ने पर्वका रूपमा स्थापित छ । तीजका गीतहरूले यस्ता सामाजिक तथा सांस्कृतिक पक्षलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । त्यसैले पछिल्लो समय बजारमुखी गीतको संख्या बढिरहेका बेला मौलिक संस्कृति र परम्परालाई केन्द्रमा राखेर गीत सिर्जना गर्ने प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘चट्टै परेर’ले तीजको मौलिक स्वादसँगै आधुनिक पुस्तालाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ । गीत सार्वजनिक भएसँगै यसको शब्द, संगीत र भिडियोमा प्रस्तुत गरिएको नेपालीपनले दर्शक–श्रोताको ध्यान तान्ने निर्माण पक्षको विश्वास छ । आगामी तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतले नेपाली मौलिक तीज संस्कृति, नारी भावना र माइतीको सम्झनालाई सांगीतिक माध्यमबाट थप जीवन्त बनाउने प्रयास गरेको छ ।
प्रतिक्रिया दिनुहोस्