लिखुमा थपिँदै ६ मेगावाट विद्युत्, २०२८ सम्म उत्पादन लक्ष्य

काठमाडौँ, १ भदौ । रामेछाप र ओखलढुङ्गाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनाको पानी उपयोग गर्दै थप ६ मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि बढाइएको छ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले तल्लो लिखु क्यासकेड जलविद्युत् आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको हो ।

मुख्य आयोजनाबाट विद्युत् उत्पादनपछि बाहिरिने पानीलाई पुनः उपयोग गरेर थप विद्युत् उत्पादन गर्ने उद्देश्यले क्यासकेड आयोजना प्रस्ताव गरिएको हो । यसले एउटै नदी प्रणालीबाट उपलब्ध जलस्रोतलाई थप प्रभावकारी रूपमा उपयोग गरी विद्युत् उत्पादन बढाउने अवधारणा अघि सारेको छ ।

विद्युत् विकास विभागका अनुसार प्रस्तावित आयोजनाका मुख्य भौतिक संरचना ओखलढुङ्गाको लिखु गाउँपालिका–४ स्थित लिखु नदीको बायाँ किनारमा निर्माण गरिनेछन् । आयोजनाका केही संरचना भने रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ तथा रामेछाप नगरपालिका–१ मा रहनेछन् । यसरी आयोजना दुई जिल्लाको भूभागसँग जोडिनेछ ।

प्रस्तावअनुसार तल्लो लिखु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई क्यासकेड आयोजनाको निकास नहरभन्दा तल निर्माण गरिने हेडपोन्डमा जम्मा गरिनेछ । हेडपोन्ड १४.८९ मिटर लामो, चार मिटर चौडा र ८.८५ मिटर अग्लो हुने प्रस्ताव गरिएको छ । जम्मा भएको पानीलाई साइफन क्रसिङ संरचनामार्फत नदीको बायाँ किनारमा निर्माण गरिने हेडरेस कल्भर्टमा पु¥याइनेछ ।

त्यसपछि करिब ४१ मिटर लामो फोरवेमार्फत पानीलाई ४७ मिटर लामो पेनस्टक पाइपमा पठाइनेछ । पेनस्टकमार्फत विद्युत्गृहमा पु¥याइएको पानीबाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको विद्युत्गृहमा ३.१ मेगावाट क्षमताका दुईवटा उत्पादन युनिट जडान गर्ने प्रस्ताव गरिएको छ। दुई युनिटबाट कुल ६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट वार्षिक औसत ३५.९३ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । तुलनात्मक रूपमा सानो क्षमताको आयोजना भए पनि मुख्य आयोजनाबाट प्रयोग भइसकेको पानीलाई पुनः विद्युत् उत्पादनमा उपयोग गर्ने भएकाले उपलब्ध जलस्रोतको अधिकतम उपयोगमा यसको भूमिका रहने देखिन्छ ।

उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आयोजनाको स्विचयार्डदेखि तल्लो लिखु जलविद्युत् आयोजनाको स्विचयार्डसम्म करिब १.५ किलोमिटर लामो १३२ केभी क्षमताको एकल सर्किट प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ । तल्लो लिखु र क्यासकेड दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् भने करिब २२.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको न्यू–खिम्ती सबस्टेसनमा पु¥याउने योजना छ ।

प्रवद्र्धक कम्पनीले २०२८ मार्च ५ सम्म आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य प्रस्ताव गरेको छ । उत्पादन अनुमतिपत्रको प्रक्रियासँगै आयोजनाको वातावरणीय पक्षसमेत अघि बढाइएको छ ।
आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार भइसकेको विभागले जनाएको छ । विभागले आयोजनाको निर्माण तथा सञ्चालनबाट कुनै उल्लेखनीय वातावरणीय प्रभाव पर्न सक्ने भएमा सरोकारवाला व्यक्ति, संस्था तथा स्थानीय बासिन्दालाई लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आह्वान गरेको छ ।

विभागले शनिबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित आयोजनाबारे ३५ दिनभित्र आफ्ना राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । वातावरणीय प्रभावका विषयमा प्राप्त हुने सुझावलाई आयोजनाको स्वीकृति प्रक्रियामा समेटिनेछ ।

नेपालमा नयाँ जलविद्युत् आयोजना निर्माणसँगै निर्माण भइसकेका आयोजनाबाट निस्कने पानीलाई पुनः प्रयोग गरेर थप ऊर्जा उत्पादन गर्ने क्यासकेड अवधारणालाई पनि प्राथमिकता दिन थालिएको छ । तल्लो लिखु क्यासकेड आयोजना यही अवधारणाअन्तर्गत अघि बढाइएको आयोजना हो । निर्धारित समयमै निर्माण सम्पन्न भएमा यसले लिखु नदीको पानीबाट थप विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा ऊर्जा थप गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्