माछापुच्छ्रे बैंकको नाफा र आम्दानी बढ्यो

काठमाडौं, १ भदौ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ मा नाफा तथा आम्दानीका अधिकांश प्रमुख सूचकमा सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १२.२४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा बैंकले करिब २३ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो । नाफामा भएको वृद्धिले बैंकको प्रतिसेयर आम्दानीमा समेत सुधार आएको छ ।

गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८९ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ रुपैयाँ ८९ पैसा थियो। यसरी बैंकको ईपीएसमा दुई रुपैयाँले सुधार भएको छ । नाफा वृद्धिसँगै ईपीएसमा आएको सुधारले शेयरधनीको प्रतिफल क्षमतामा सकारात्मक संकेत गरेको छ ।

बैंकको नाफा वृद्धिमा मुख्य आम्दानीका स्रोतमा भएको विस्तारले सहयोग गरेको देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको नेट ट्रेडिङ आम्दानीमा पनि उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ३३ करोड २२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी गत आर्थिक वर्षमा बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ । ब्याज, शुल्क तथा कमिसन र ट्रेडिङ आम्दानीमा भएको वृद्धिले बैंकको कुल सञ्चालन आम्दानीलाई समेत बलियो बनाएको छ ।

कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ।नाफा बढे पनि बैंकको लाभांश वितरण क्षमता भने तुलनात्मक रूपमा कम देखिएको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेको थियो ।

उक्त शेयरको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याएपछि बैंकको वितरणयोग्य नाफा ९८ करोड २० लाख रुपैयाँ कायम भएको छ ।बैंकको लाभांश क्षमता ७.५१ प्रतिशतमा सीमित भएको छ । यसअघि वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । अर्थात् वितरणयोग्य नाफा बढे पनि अग्राधिकार शेयरको लाभांश दायित्वका कारण साधारण शेयरधनीका लागि उपलब्ध लाभांश क्षमता अपेक्षाकृत सीमित बनेको देखिन्छ ।

बैंकको वित्तीय स्वास्थ्यमा चुनौतीका रूपमा निष्क्रिय कर्जा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ३.९६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षमा सामान्य बढेर ३.९८ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जामा सामान्य वृद्धि भए पनि कर्जा नोक्सानी व्यवस्थापन खर्च भने उल्लेख्य रूपमा बढेको छ । यस्तो खर्च ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ । यसले बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि थप रकम छुट्याएको संकेत गर्छ ।

नियामकीय जगेडा कोषमा रकम छुट्याउनुअघिको नाफा पनि बढेको छ । यस्तो नाफा १ अर्ब ४ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । बक्यौता ब्याजबापत ११ करोड १२ लाख रुपैयाँ नियामकीय जगेडा कोषमा छुट्याएपछि वितरणयोग्य नाफा ९८ करोड २० लाख रुपैयाँ कायम भएको हो ।

गत आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।

समग्रमा, माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा ब्याज, शुल्क तथा अन्य आम्दानी बढाउँदै खुद नाफा र ईपीएसमा सुधार गरेको छ। यद्यपि कर्जा नोक्सानी व्यवस्थापन खर्च तथा निष्क्रिय कर्जामा देखिएको वृद्धिका कारण बैंकका लागि आगामी दिनमा सम्पत्तिको गुणस्तर कायम राख्नु महत्वपूर्ण चुनौती बन्ने देखिन्छ।

साथै, नाफा वृद्धि भए पनि अग्राधिकार शेयरको दायित्वका कारण साधारण शेयरधनीका लागि लाभांश क्षमता ७.५१ प्रतिशतमा सीमित भएको छ।

 

प्रतिक्रिया दिनुहोस्