काठमाडौँ, १ भदौ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला तथा सम्मेलन सम्पन्न भएको छ । पाँच निर्णय पारित गर्दै भेला आइतबार सम्पन्न भएको हो । भेलाले पार्टीभित्रको एकता कायम राख्दै १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । तीन दिनसम्म चलेको भेलाले पार्टीको आगामी दिशा, राष्ट्रिय राजनीति, संविधान संशोधन र धार्मिक–सांस्कृतिक पहिचानसँग सम्बन्धित विषय समेटेर पाँच निर्णय पारित गरेको हो ।
भेलाको उद्घाटन तथा समापन दुवै कार्यक्रममा कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागी रहेको थियो । भेलाको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला भने समापन समारोहमा देखिएनन् ।
निवर्तमान सभापति देउवा स्वास्थ्योपचारका लागि विदेशमा रहेका बेला पार्टीको नेतृत्व सम्हालेका खड्का साउन २९ गते भेलाको उद्घाटन सत्रमा भने सहभागी हुनुभएको थियो । समापनमा उहाँ नजानु लाई अर्थपूर्ण रुपमा रहेको नेताहरूले बताएका छन् । खड्काको सचिवालयले खड्का समापन समारोहमा नगएको बताएको छ ।
भेलाले आगामी कार्यक्रमको संयोजन पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा गर्ने निर्णयसमेत गरेको छ । यससँगै कोइराला संस्थापनइतर पक्षका आगामी गतिविधिको संयोजन गर्ने भूमिकामा रहने भएका छन् ।
भेलाबाट पारित पहिलो निर्णयले पार्टीको आगामी महाधिवेशनसम्बन्धी विवादलाई समेत सम्बोधन गर्ने प्रयास गरेको छ । निर्णयमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा उक्त महाधिवेशन देउवाको सभापतित्वमा हुने उल्लेख छ ।
त्यसमा देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ । १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्दै जाने निर्णय पनि गरिएको छ ।
यो निर्णय कांग्रेसभित्र पछिल्लो समय देखिएको नेतृत्व र महाधिवेशनसम्बन्धी विवादको सन्दर्भमा महत्वपूर्ण मानिएको छ । विशेषगरी पार्टीको विशेष महाधिवेशनको वैधानिकता तथा त्यसबाट उत्पन्न नेतृत्वसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापनइतर पक्षबाट देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय आएको हो ।
भेलाको समापनतिर देउवाले समेत धर्मसम्बन्धी आफ्नो धारणा स्पष्ट पार्नुभएको थियो । उहाँले आफू हिन्दू भएको बताउँदै सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।भेलाको अर्को महत्वपूर्ण निर्णय नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानसँग सम्बन्धित छ । सम्मेलनले नेपालमा परम्परादेखि कायम रहेको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
निर्णयमा नेपालको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चिततासँगै हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वमा जोड दिइएको छ । यही सन्दर्भमा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा’ अघि बढाउने उल्लेख गरिएको हो ।
कांग्रेसभित्र यसअघि धार्मिक स्वतन्त्रताको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको अवस्थामा सम्मेलनबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोडेर प्रस्तुत गरिएको विषय राजनीतिक रूपमा अर्थपूर्ण देखिएको छ । यद्यपि निर्णयले धार्मिक स्वतन्त्रता र सबै धार्मिक समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई पनि सँगसँगै उल्लेख गरेको छ ।
समापन समारोहमा देउवाले आफू हिन्दू परम्परा पालना गर्ने व्यक्ति भएको उल्लेख गर्दै धार्मिक स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो । उहाँले आफू ब्रतबन्ध गरेको, हिन्दू परम्पराअनुसार विवाह गरेको र पशुपतिनाथमा पूजा गर्ने गरेको उल्लेख गर्दै राज्यको धार्मिक व्यवस्थासम्बन्धी अन्तिम निर्णय जनताको चाहनाअनुसार हुनुपर्ने धारणा राख्नुभयो ।
समापन सत्रमा भेलाका निर्णयहरू सुनाउने क्रममा पूर्व उपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबिच सार्वजनिक रूपमै विवाद देखिएको थियो । राजनीतिक प्रस्ताव समेत लेखेका निधिले निर्णयको मस्यौदामा प्रयोग गरिएको ‘धर्म’ सम्बन्धी शब्दमा असन्तुष्टि जनाउनुभएको थियो ।
डा. महतले निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए । तर, निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने अडान लिए । विवाद बढ्दै जाँदा मञ्चमै दुई नेताबिच निर्णय लेखिएको कागज खोसाखोस भएको दृश्य देखिएको थियो ।
दुई नेताबिच विवाद बढेपछि निवर्तमान सभापति देउवाले हस्तक्षेप गरेर डा. महतले नै तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो ।
निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्दा देउवालाई १५औँ महाधिवेशनसम्म पार्टी सभापतिको रूपमा स्वीकार गर्ने विषयका केही शब्दमा नेताहरूबीच छलफल भएको थियो ।
प्रस्तावमा ‘१४औँ महाधिवेशनबाट बनेको निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ’ भन्ने विषय प्रस्तुत भएपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो । तर त्यसपछि निर्णयको शब्द चयनलाई लिएर नेता प्रकाशशरण महत र विमलेन्द्र निधिसहितका नेताहरूबीच छलफल भएको थियो ।
महतले पोडियममा पुगेर निर्णयमा ‘कार्यसमिति’ शब्द समावेश गर्नुपर्ने आग्रह गर्नुभएको थियो । त्यसपछि निधि पनि छलफलमा सहभागी हुनुभएको थियो । केही समय नेताहरूबीच संवाद भएपछि प्रस्तावको भाषालाई परिमार्जन गर्दै १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन सम्पन्न हुने व्यहोरा समेटिएको थियो । धर्मसम्बन्धी विषयमा पनि महत र निधिबीच विवाद भएको थियो ।
सम्मेलनको दोस्रो निर्णय राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरणसँग सम्बन्धित छ । निर्णयमा २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकटको अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलापको नीति अघि सार्दै स्वदेश फर्किएको प्रसंग उल्लेख गरिएको छ ।
अहिले पनि देश अप्ठ्यारो परिस्थितिमा रहेको निष्कर्षसहित राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने प्रतिबद्धता सम्मेलनले व्यक्त गरेको छ ।
यसले कांग्रेसभित्रको आन्तरिक राजनीतिक विवादलाई पार्टीको संगठनात्मक सीमाभन्दा बाहिर राष्ट्रिय राजनीतिक सहकार्यसँग जोड्ने प्रयाससमेत देखाएको छ । पछिल्लो समय राजनीतिक दलहरूबीच बढेको दूरी र कांग्रेसभित्रकै मतभेदका बीच संवाद र सहकार्यलाई निर्णयको एउटा आधार बनाइएको हो ।
सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न सकिने धारणा पनि अघि सारेको छ । संविधानमा संशोधन गर्नुपर्ने विषयमा संवैधानिक व्यवस्थाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने निर्णय गरिएको छ ।
यसले संविधान संशोधनलाई राजनीतिक सहमति र संवादको माध्यमबाट अघि बढाउने पक्षमा कांग्रेसको संस्थापनइतर समूहको धारणा प्रस्तुत गरेको छ । यद्यपि कुन–कुन विषयमा संशोधन आवश्यक छ भन्ने विस्तृत खाका भने निर्णयमा प्रस्तुत गरिएको छैन ।
सम्मेलनबाट पारित विभिन्न प्रस्ताव तथा सहभागीहरूले दिएका सुझावलाई समेटेर अन्तिम लिखित दस्तावेज तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित टोलीलाई दिइएको छ । टोलीमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता रानासहित मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहनेछन् ।
समापन कार्यक्रममा देउवाले पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै न्यायालयप्रति आफ्नो विश्वास रहेको बताउनुभयो ।उहाँका अनुसार आफूले विशेष महाधिवेशन सबैको सहमतिमा गर्नुपर्ने धारणा राखे पनि त्यसविपरीत प्रक्रिया अघि बढेपछि त्यसविरुद्ध अदालत गएको हो । अदालतको पूर्ण निर्णय आउन बाँकी रहेको भन्दै उहाँले यस विषयमा धेरै टिप्पणी नगर्ने र अदालतको निर्णय स्वीकार गर्ने धारणा राख्नुभयो ।
देउवाले आफ्नो राजनीतिक जीवनमा न्यायालयबाट पटक–पटक न्याय पाएको प्रसंगसमेत उल्लेख गरे। राजतन्त्र र पञ्चायती व्यवस्थाका समयमा आफूले भोगेको राजनीतिक दमनदेखि वर्तमान विवादसम्म न्यायालयले आफूलाई न्याय दिएको उहाँको भनाइ थियो ।
देउवा केही महिनाको विदेश उपचारपछि स्वदेश फर्किएर कांग्रेसको संस्थापनइतर पक्षको भेलामा सहभागी हुनुभएको हो । भेलामा उहाँको उपस्थितिले पार्टीभित्रको शक्ति समीकरण र आगामी महाधिवेशनसम्बन्धी बहसलाई थप महत्व दिएको छ ।
भेलाको समापनमा संयोजक शशांक कोइरालाले सम्मेलनको उद्देश्य पार्टीलाई एकताबद्ध गर्नु रहेको बताउनुभयो । उहाँले पारित पाँचबुँदे निर्णयप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि कांग्रेसका नेताहरू एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सम्मेलनले राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण, संविधान संशोधनमा संवाद र पार्टी एकताको विषयलाई समानान्तर रूपमा अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्