काठमाडौं, २६ साउन । बक्यौता असुलीमा कडाइ र कर सङ्कलनलाई प्रभावकारी बनाउने प्रयासको परिणामस्वरूप जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा १७ करोड १५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा २० करोड ३७ लाख एक हजार ५५९ रुपैयाँ सङ्कलन गरेको हो ।
उपमहानगरपालिकाका अनुसार लक्ष्यको तुलनामा तीन करोड २२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा पनि राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १६ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १६ करोड ६४ लाख ७८ हजार ९३३ रुपैयाँ उठेको थियो । त्यस वर्षको तुलनामा गत आवमा तीन करोड ७२ लाख २१ हजार ६२६ रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख परमेश्वर झाका अनुसार बक्यौता उठाउने कार्यलाई प्राथमिकता दिइनुका साथै विभिन्न राजस्व शीर्षकमा प्रभावकारी असुली गरिएकाले सङ्कलन बढेको हो । उहाँका अनुसार स्थानीय तहको आन्तरिक आम्दानी बलियो बनाउन कर तथा शुल्कको दायरालाई व्यवस्थित गर्ने प्रयास गरिएको छ ।
गत आवमा उपमहानगरपालिकाको सबैभन्दा ठूलो आम्दानी सम्पत्ति करबाट भएको छ । सम्पत्ति करतर्फ पाँच करोड ६१ लाख पाँच हजार ३३१ रुपैयाँ सङ्कलन भएको छ । त्यस्तै बहाल करतर्फ पाँच करोड ७५ लाख ३९ हजार ६४४ रुपैयाँ उठेको छ । यी दुई शीर्षकबाट मात्रै ११ करोडभन्दा बढी राजस्व सङ्कलन भएको देखिन्छ ।
नक्सापास दस्तुर पनि उपमहानगरपालिकाको महत्वपूर्ण आम्दानी स्रोत बनेको छ । गत आवमा यस शीर्षकबाट तीन करोड ३७ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सिफारिस दस्तुरबाट एक करोड ३४ लाख ९५ हजार ८९६ रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै बहाल बिटौरी करतर्फ ९२ लाख ३२ हजार २०० रुपैयाँ तथा व्यवसाय करतर्फ ५१ लाख ५० हजार ३४७ रुपैयाँ सङ्कलन भएको छ । अन्य सेवा शुल्क तथा बिक्रीबाट २९ लाख ६८ हजार ४७५ रुपैयाँ राजस्व प्राप्त भएको छ ।
उपमहानगरपालिकाले बेरुजु असुलीमा पनि लक्ष्यभन्दा बढी प्रगति गरेको छ ।
पाँच लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा २१ लाख २६ हजार ४५३ रुपैयाँ सङ्कलन भएको छ । यसैगरी अन्य प्रशासनिक सेवा शुल्कबाट ६८ लाख ३४ हजार ९३४ रुपैयाँ, परीक्षा शुल्कबाट १७ लाख ८६ हजार ७०० रुपैयाँ र व्यक्तिगत घटना दर्ता दस्तुरबाट पाँच लाख ९७ हजार ७२० रुपैयाँ प्राप्त भएको छ ।
प्रशासनिक दण्ड तथा जरिवानाबाट ११ लाख पाँच हजार ५६३ रुपैयाँ र सरकारी सम्पत्ति बिक्रीबाट १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखाले जनाएको छ । स्थानीय तहको विकास तथा सेवा प्रवाहमा आन्तरिक स्रोतको भूमिका महत्वपूर्ण हुने भएकाले राजस्व वृद्धि जनकपुरधाम उपमहानगरपालिकाका लागि सकारात्मक सूचक मानिएको छ ।
आगामी दिनमा करको दायरा विस्तार, बक्यौता असुलीमा निरन्तरता र राजस्व प्रशासनलाई थप व्यवस्थित गर्न सके आन्तरिक आम्दानी अझ बढाउन सकिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्