‘इलिफेन्ट्स इन द फग’, ट्रेलरले सार्वजनिक

काठमाडौं, २१ साउन । अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको नेपाली सिनेमा ‘तिनीहरूः इलिफेन्ट्स इन द फग’ अब स्वदेशी दर्शकमाझ प्रदर्शनको तयारीमा छ ।

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जितेर नेपाली सिनेमाको इतिहासमा नयाँ अध्याय थपेको यस सिनेमाले प्रदर्शनअघि आफ्नो म्युजिकल ट्रेलर सार्वजनिक गर्दै दर्शकमाझ थप उत्सुकता सिर्जना गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले हराएकी छोरीको खोजीमा संघर्षरत एक आमाको पीडा, समाजले गर्ने शंका र राज्य संयन्त्रसँग न्यायको याचनालाई संगीतमार्फत प्रस्तुत गरेको छ । भोजपुरी लयमा तयार गरिएको गीतमा तेस्रोलिंगी समुदायको सांगीतिक प्रस्तुतिले कथालाई फरक स्वाद दिएको छ । गीतमा लव कर्णको शब्द, शिवानी भगत र देव अहिररावको स्वर रहेको छ ।

ट्रेलरमा जंगली हात्तीको आतंकले त्रसित गाउँको परिवेश देखाइए पनि हात्तीलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरिएको छैन । बरु, त्यसको त्रास, असुरक्षा र त्यसबाट प्रभावित समुदायको दैनिक जीवनलाई प्रतीकात्मक शैलीमा देखाइएको छ । निर्देशकले मानवीय पीडा, सामाजिक विभेद र प्राकृतिक संकटबीचको सम्बन्धलाई केन्द्रमा राखेर कथा निर्माण गरेका छन् ।

निर्देशक अविनाश विक्रम शाहका अनुसार सिनेमाले जंगली हात्तीको आतंकबाट प्रभावित सीमावर्ती बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवन, उनीहरूले भोग्ने असुरक्षा र एक आमाको अथक संघर्षलाई चित्रण गर्छ । यसअघि लघु सिनेमा ‘लोरी’ मार्फत कान्समा पुरस्कार जितिसकेका शाह नेपाली सिनेमाका स्थापित पटकथाकार पनि हुन् । उहाँले ‘कालो पोथी’, ‘शाम्बाला’ र सीमित शृंखला ‘सिंहदरबार’मा पनि पटकथा लेखिसक्नु भएको छ ।

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने सिनेमामा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ । नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको यो सिनेमाले अन्तर्राष्ट्रिय सफलतालाई घरेलु बक्स अफिसमा पनि निरन्तरता दिन सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्