नेपाल बैंकका ग्राहकलाई पिपल्स डेन्टलमा उपचार विशेष छुट

काठमाडौं, २१ साउन । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँग विशेष सहकार्य गरेको छ । यसअन्तर्गत बैंकका खातावाला ग्राहक तथा कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सोअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् ।

दुवै संस्थाबीच भएको सम्झौताअनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालमा विरामी दर्ता तथा प्रारम्भिक स्वास्थ्य परीक्षण (चेकअप) शुल्कमा शतप्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । बैंकले यस व्यवस्थाबाट आफ्ना सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ रूपमा उपलब्ध गराउने अपेक्षा गरेको छ ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि बैंकका ग्राहक र कर्मचारीले अस्पतालका दन्त उपचारसहित जनरल अस्पतालका विभिन्न स्वास्थ्य सेवामा सहुलियत दरमा सेवा लिन सक्नेछन् ।

नेपाल बैंकले पछिल्ला वर्षहरूमा बैंकिङ सेवासँगै ग्राहक केन्द्रित अतिरिक्त सुविधा विस्तार गर्ने रणनीति अपनाउँदै आएको छ । विभिन्न अस्पताल, शैक्षिक संस्था, होटल तथा सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरू अघि बढाइरहेको बैंकले जनाएको छ । स्वास्थ्य सेवा क्षेत्रमा भएको पछिल्लो सम्झौता पनि सोही रणनीतिको निरन्तरता रहेको बैंकको भनाइ छ ।

बैंकका अनुसार स्वास्थ्य उपचारको बढ्दो खर्चलाई ध्यानमा राख्दै सेवाग्राहीलाई केही राहत दिने उद्देश्यले यस्तो सहकार्य गरिएको हो । यसबाट नियमित उपचार गराउने ग्राहक तथा बैंकका कर्मचारीले आर्थिक रूपमा प्रत्यक्ष लाभ लिन सक्ने विश्वास गरिएको छ ।

पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले दन्त उपचारका साथै विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । जनरल अस्पतालमार्फत पनि सर्वसाधारणलाई विविध स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको संस्थाले नेपाल बैंकसँगको सहकार्यपछि सेवाग्राहीको पहुँच अझ विस्तार हुने अपेक्षा गरेको छ ।

नेपालको पहिलो वाणिज्य बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेड हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । डिजिटल बैंकिङ, आधुनिक प्रविधिको प्रयोग तथा ग्राहकमैत्री सेवामा जोड दिँदै बैंकले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको छ ।

बैंकले दक्ष व्यवस्थापन, युवा जनशक्ति र प्रविधिमैत्री बैंकिङ प्रणालीमार्फत ग्राहकको विश्वास अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ । स्वास्थ्य क्षेत्रमा भएको यो नयाँ सहकार्यले बैंकिङ सेवा केवल वित्तीय कारोबारमा सीमित नरही ग्राहकको समग्र जीवनशैली र आवश्यकतासँग जोडिने प्रयासलाई थप बल पु¥याएको बैंकको विश्वास छ । यस प्रकारका सहकार्यले बैंकका ग्राहकलाई थप मूल्य अभिवृद्धि हुने र सेवाप्रतिको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्