काठमाडौं, २१ साउन । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीतले डिजिटल प्लेटफर्ममा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । सार्वजनिक भएको एक सातामै गीतले युट्युबमा करिब पाँच लाख भ्युज प्राप्त गर्दै दर्शकमाझ राम्रो चर्चा कमाएको हो। गीतको शब्द, संगीत, गायन तथा भिडियो प्रस्तुतीकरणको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।
चलचित्रको शीर्ष गीत प्रेमकथामा आधारित रहेको छ। गीतका शब्दहरूले पहिलो भेटमै सुरु हुने प्रेम, प्रिय व्यक्तिप्रतिको आकर्षण, भावनात्मक समर्पण तथा जीवनभर साथ निभाउने चाहनालाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । ‘चोरी लग्यौ मेरो यो मन केही नबोली’ र ‘किन गाउँछ यो मनले तिम्रै गीत यसरी’ जस्ता हरफले प्रेममा परेको व्यक्तिको मनोभावलाई प्रभावशाली ढंगले अभिव्यक्त गरेका छन् ।
गीतमा प्रेमी–प्रेमिकाबीचको आत्मीय सम्बन्ध, विश्वास र भविष्यप्रतिको साझा सपना झल्काइएको छ । रोमान्टिक भावनालाई वैवाहिक सम्बन्धको मिठाससँग जोडेर प्रस्तुत गरिएकाले गीतले युवा पुस्तासँगै पारिवारिक दर्शकको पनि ध्यान तानेको देखिन्छ ।
गीतका शब्द तथा संगीत प्रशान्त शिवाकोटीको रहेको छ । मधुर संगीत र भावपूर्ण गायनका कारण गीतलाई चलचित्र प्रदर्शनअघि नै सकारात्मक प्रचार सामग्रीका रूपमा हेरिएको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरूको रोमान्टिक केमेस्ट्री प्रस्तुत गरिएको छ । दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई प्रेमिल दृश्यमा देखाइएको छ, जसले चलचित्रको कथाप्रति दर्शकमा थप उत्सुकता जगाएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।
चलचित्रको निर्देशन अभिनेत्री तथा निर्देशक रेखा थापाले गर्नुभएको छ । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ ।
ध्रुव लम्सालको पटकथा रहेको चलचित्रमा हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठको लगानी रहेको छ ।चलचित्र प्रदर्शन हुन अझ केही समय बाँकी रहे पनि शीर्ष गीतले छोटो अवधिमै उल्लेखनीय दर्शक प्रतिक्रिया प्राप्त गरेपछि निर्माण टिम उत्साहित देखिएको छ ।
डिजिटल प्लेटफर्ममा बढ्दो लोकप्रियताले चलचित्रको प्रचारमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ । भदौ २६ गतेबाट देशभर प्रदर्शनमा आउने यस चलचित्रले प्रेमकथामा रुचि राख्ने दर्शकमाझ कस्तो प्रभाव छोड्छ भन्ने प्रतीक्षा फिल्म वृत्तमा बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्