काठमाडौं, २१ साउन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तेस्रो डीएभी कर्पोरेट फुटसल प्रतियोगिता–२०२६ को उपाधि जितेको छ । अत्यन्त प्रतिस्पर्धात्मक फाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै काठमाडौं उपत्यका खानेपानीले प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएको हो ।
निर्धारित समयसम्म दुवै टोलीबीच बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । निर्णायक क्षणमा काठमाडौं उपत्यका खानेपानीका खेलाडीले संयमित प्रदर्शन गर्दै दुवै अवसरलाई गोलमा परिणत गरे भने नागरिक उड्डयनका खेलाडीले दबाबमा अपेक्षित प्रदर्शन गर्न सकेनन् । त्यससँगै काठमाडौं उपत्यका खानेपानी विजेता बन्दै ट्रफीसहित नगद एक लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भयो । उपविजेता नेपाल नागरिक उड्डयन प्राधिकरणले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो ।
ललितपुरस्थित डीएभी कलेजको फुटसल मैदानमा आयोजित प्रतियोगिता डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, सार्वजनिक निकाय, निजी कम्पनी र कर्पोरेट क्षेत्रका गरी ३२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताले विभिन्न संस्थामा कार्यरत कर्मचारीबीच खेलकुदमार्फत आपसी सम्बन्ध विस्तार, स्वस्थ प्रतिस्पर्धा र टोलीगत कार्यसंस्कृतिको विकास गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
प्रतियोगिताभर काठमाडौं उपत्यका खानेपानीले सन्तुलित प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा पनि टोलीले रक्षात्मक र आक्रामक दुवै पक्षमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने आधार तयार पारेको थियो । विशेषगरी दबाबपूर्ण अवस्थामा टाइब्रेकरमा देखाएको आत्मविश्वास टोलीको सफलताको प्रमुख आधार बन्यो ।
उपविजेता बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको थियो । फाइनलमा उपाधिबाट वञ्चित भए पनि टोलीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै दर्शकको प्रशंसा बटुल्यो ।
पछिल्ला वर्षहरूमा नेपालमा कर्पोरेट फुटसल प्रतियोगिताप्रति आकर्षण बढ्दै गएको छ । यस्ता प्रतियोगिताले कार्यालयमा सीमित रहने कर्मचारीलाई खेलकुदमार्फत शारीरिक रूपमा सक्रिय बनाउनुका साथै आपसी समन्वय, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
आयोजकका अनुसार प्रतियोगिताले कर्पोरेट क्षेत्रका कर्मचारीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै संस्थाबीचको सम्बन्धलाई पनि थप मजबुत बनाउने लक्ष्य राखेको छ । यस वर्ष ३२ टोलीको सहभागिताले प्रतियोगिताप्रतिको आकर्षण र लोकप्रियता निरन्तर बढिरहेको संकेत गरेको आयोजकको विश्वास छ ।
रोमाञ्चक फाइनलसँगै सम्पन्न प्रतियोगितामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उत्कृष्ट टोलीको परिचय दिँदै उपाधि उचाल्न सफल भयो भने नेपाल नागरिक उड्डयन प्राधिकरण उपविजेतामा सीमित रह्यो । प्रतियोगिताले कर्पोरेट क्षेत्रको खेलकुद संस्कृतिलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्