‘बेहुली’को ‘दिलमा ठाउँ छ’ले तहल्का मच्चाउदै

काठमाडौं, १३ साउन । प्रदर्शनको तयारीमा रहेको नेपाली सिनेमा ‘बेहुली’ले आफ्नो पहिलो गीत सार्वजनिक भएसँगै डिजिटल माध्यममा उल्लेखनीय चर्चा बटुल्न थालेको छ । सिनेमाको प्रचार अभियानअन्तर्गत सार्वजनिक गरिएको ‘दिलमा ठाउँ छ’ बोलको गीतले छोटो समयमै सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तान्दै टिकटक र युट्युब दुवै प्लेटफर्ममा प्रभावशाली उपस्थिति जनाएको हो ।

निर्माण टिमका अनुसार गीत सार्वजनिक भएको ४८ घण्टाभित्रै टिकटकमा यस गीतमा आधारित एक लाखभन्दा बढी भिडियो बनेका छन् । त्यस्तै युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोले पनि दुई दिन नपुग्दै छ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । छोटो अवधिमै प्राप्त भएको यो प्रतिक्रियाले ‘बेहुली’प्रति दर्शकमाझ उत्सुकता बढ्दै गएको संकेत गरेको निर्माण पक्षको विश्वास छ ।

सामाजिक सञ्जालमा गीतको लोकप्रियता बढ्नुमा यसको आकर्षक ‘हुक स्टेप’ प्रमुख कारण बनेको देखिन्छ । टिकटकमा सर्वसाधारण प्रयोगकर्तादेखि चर्चित कलाकार, कन्टेन्ट क्रिएटर तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले समेत यही नृत्य शैलीमा भिडियो बनाइरहेका छन् । यसले गीतलाई अझ व्यापक दर्शकमाझ पु¥याउन सहयोग पुगेको छ ।

लोक शैलीलाई आधुनिक संगीत संयोजनसँग प्रस्तुत गरिएको ‘दिलमा ठाउँ छ’ले विशेषगरी युवा पुस्तासँगै परिवारका अन्य सदस्यको पनि ध्यान आकर्षित गरेको छ । विवाहको माहोल, रमाइलो वातावरण र नेपाली सांस्कृतिक स्वादलाई समेटेर तयार पारिएको गीत भएकाले यसले विभिन्न उमेर समूहका दर्शकलाई समान रूपमा आकर्षित गरिरहेको निर्माण टोलीको भनाइ छ ।

गीतका शब्द तथा संगीत सिनेमाका प्रस्तुतकर्ता अर्जुन पोखरेलले तयार पारेका हुन् । संगीतकार पोखरेलले लोक लयलाई समसामयिक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । गीतमा चर्चित गायिका अञ्जु पन्तसँगै गायक प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ । तीन फरक स्वरको संयोजनले गीतलाई थप आकर्षक बनाएको संगीतप्रेमीहरूको प्रतिक्रिया छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझी आकर्षक बेहुला–बेहुलीको पहिरनमा प्रस्तुत भएका छन् । उनीहरूको नृत्य र रोमान्टिक प्रस्तुतीकरणले सिनेमाको कथा विवाह र पारिवारिक सम्बन्धको वरिपरि केन्द्रित रहेको संकेत दिन्छ । भिडियोमा अभिनेता सुशान्त कार्की र पदम तामाङको विशेष उपस्थितिले पनि दर्शकको ध्यान तानेको छ । गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्, जसका नृत्य शैली अहिले टिकटक प्रयोगकर्ताबीच निकै लोकप्रिय बनेका छन् ।

निर्देशक सशान कँडेलको निर्देशनमा बनेको ‘बेहुली’को कथा तथा पटकथा माधव शर्माले तयार पार्नुभएको हो । निर्माण पक्षका अनुसार सिनेमाले प्रेम, विवाह, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नेछ ।

सिनेमामा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल तथा समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ । अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको संयोजनले सिनेमालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको ‘बेहुली’का प्रस्तुतकर्ता अर्जुन पोखरेल, निर्माता प्रताप शमशेर राणा, शंकर कोइराला कार्यकारी निर्माता रहेको यस सिनेमामा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ ।

निर्माण पक्षले आगामी भदौ २६ गतेदेखि सिनेमा देशभर प्रदर्शनमा आउने जनाएको छ । काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने सिनेमाले डिजिटल प्लेटफर्ममा प्राप्त गरेको सकारात्मक प्रतिक्रियालाई बक्स अफिस सफलतामा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । गीतको बढ्दो लोकप्रियतासँगै ‘बेहुली’ अहिले प्रदर्शनअघि नै वर्षकै चर्चित नेपाली सिनेमामध्ये एक बन्ने संकेत देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्