काठमाडौं, १३ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले फेरि निराशाजनक नतिजा भोगेको छ । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा अपेक्षित लय समात्न नसक्दा नेपाल नामिबियासँग रोमाञ्चक प्रतिस्पर्धामा तीन रनले पराजित भएको हो । अन्तिम बलसम्म जितको सम्भावना कायम राखे पनि लक्ष्य पूरा गर्न नसक्दा नेपाल लगातार तेस्रो हार बेहोर्न बाध्य बन्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २११ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । जवाफमा २१२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । अन्तिम क्षणसम्म खेल आफ्नो पक्षमा ल्याउने प्रयास भए पनि केही महत्वपूर्ण साझेदारी पूरा हुन नसक्दा नेपाल तीन रनले पछि रह्यो ।
नेपालको इनिङ्समा कुनै पनि ब्याट्सम्यानले अर्धशतक पूरा गर्न सकेनन्। ओपनर आशिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ४१ रनको योगदान दिए । अनुभवी आरिफ शेख ३८ रनमा अविजित रहे पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन् । कुशल भुर्तेलले ३४ रन जोड्दा गुल्शन झाले १९ तथा इशान पाण्डेले १४ रन बनाए । सुरुआत र मध्यक्रममा राम्रो साझेदारी बने पनि त्यसलाई ठूलो स्कोरमा रूपान्तरण गर्न नसक्दा नेपाल दबाबमा परेको थियो ।
नामिबियाका बलरहरूले अन्तिमसम्म अनुशासित बलिङ गर्दै नेपालको रनगति नियन्त्रणमा राखे । ज्याक ब्रसेलले तीन विकेट लिए भने रुवेन ट्रम्पलम्यानले दुई विकेट हात पारे । विशेषगरी अन्तिम ओभरहरूमा उनीहरूले गरेको किफायती बलिङ नेपालका लागि निर्णायक बन्यो ।
यसअघि नामिबियाको इनिङ्समा जान फ्राइलिंक नायक बने । उनले १४९ बलमा तीन चौका प्रहार गर्दै १०० रनको धैर्यपूर्ण शतकीय इनिङ्स खेले । कठिन परिस्थितिमा उनले इनिङ्स सम्हाल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पु¥याएका थिए । लरेन स्टिनक्याम्पले ५९ रनको महत्वपूर्ण साथ दिए भने मालान क्रुगरले १५ र जान निकोल लोफ्टी–इटनले अविजित १० रन बनाए ।
नेपालका लागि भने बलिङतर्फ करण केसीले अविस्मरणीय प्रदर्शन गरे । उनले आफ्नो १० ओभरको स्पेलमा दुई मेडन राख्दै केवल २९ रन खर्चेर पाँच विकेट लिए । यससँगै करणले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने ऐतिहासिक उपलब्धि पनि हासिल गरे ।
उनी नेपालका प्रमुख तीव्र गतिका बलरका रूपमा पुनः एकपटक प्रभावशाली देखिए । सोमपाल कामीले एक विकेट लिए भने अन्य बलरले दबाब कायम राखे पनि नामिबियाको मध्यक्रमलाई पूर्ण रूपमा रोक्न सकेनन् ।
यो शृङ्खलामा नेपालको मुख्य समस्या फेरि पनि ब्याटिङ नै देखियो । पहिलो खेलमा पनि नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो । तीनवटै खेलमा बलिङले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि ब्याटिङले निरन्तरता दिन नसक्दा टोलीले लगातार हार व्यहोरेको छ ।
लगातार तेस्रो हारपछि नेपाल ३१ खेलबाट २४ अंकसहित लिग–२ को तालिकामा छैटौँ स्थानमा झरेको छ । समान खेलबाट २६ अंक जोडेको नामिबिया पाँचौँ स्थानमा उक्लिएको छ भने ३० खेलबाट ३६ अंक बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ । तालिकाको अवस्था हेर्दा अब नेपालका बाँकी खेलहरू अझ महत्वपूर्ण बनेका छन्।
नेपालले अब शृङ्खलाको अन्तिम खेल बुधबार (आज) घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । शीर्ष चार टोलीले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने भएकाले प्रत्येक अंकको महत्व बढेको छ । साथै, लिग–२ मा शीर्ष ६ भित्र रहन सके मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहने भएकाले नेपालमाथि आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्ने दबाब पनि थपिएको छ । अब टोलीले बलिङसँगै ब्याटिङमा पनि स्थिरता देखाउन सके मात्र विश्वकप छनोट यात्रालाई मजबुत बनाउन सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्