काठमाडौं, १२ साउन । नेपाली लोकसङ्गीतमा चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आउनुभएकी अग्रज लोकगायिका माया गुरुङ (देवीमाया थापा गुरुङ) को सम्मानमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले आगामी असोज १० गते बेँसीशहरमा ‘माया गुरुङ साङ्गितिक साँझ’ आयोजना गर्ने घोषणा गरेको हो ।
बेँसीशहरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गर्दै आयोजकले यो कार्यक्रम केवल एक कलाकारको सम्मानमा सीमित नरही नेपाली लोकसङ्गीतको संरक्षण, प्रवद्र्धन तथा कलाकारको सामाजिक सुरक्षालाई सुदृढ बनाउने अभियानको सुरुआतका रूपमा रहेको जनाएको छ । कार्यक्रममा सङ्कलन हुने रकमबाट कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङका अनुसार लोकसङ्गीतका लागि जीवन समर्पित गरेका अग्रज कलाकारलाई सम्मान गर्नु अहिलेको आवश्यकता हो । उहाँले कलाकारले सिर्जनात्मक योगदान दिए पनि जीवनको उत्तरार्धमा आर्थिक तथा सामाजिक असुरक्षा भोग्नुपर्ने अवस्था अझै विद्यमान रहेकाले त्यसलाई सम्बोधन गर्न संस्थागत पहल आवश्यक भएको बताउनुभयो ।
कार्यक्रम संयोजक अनुज अधिकारीले नेपाली लोकभाकाको मौलिक स्वरूप जोगाउँदै नयाँ पुस्तासम्म त्यसको हस्तान्तरण गर्ने उद्देश्यले साङ्गितिक साँझ आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार माया गुरुङ नेपाली लोकसङ्गीतको जीवित इतिहासजस्तै व्यक्तित्व भएकाले उहाँको सम्मानले नयाँ पुस्ताका कलाकारलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ ।
कार्यक्रम बेँसीशहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित लोक तथा दोहोरी गायक–गायिकाको प्रस्तुति रहनेछ । आयोजकका अनुसार माया गुरुङले लोकप्रिय बनाएका चर्चित लोकगीतहरू विशेष रूपमा प्रस्तुत गरिनुका साथै उहाँको साङ्गीतिक यात्रालाई समेट्ने विशेष कार्यक्रम पनि राखिनेछ ।
बेँसीशहर नगरपालिका–५, नाल्मामा जन्मिनुभएकी माया गुरुङ नेपाली लोकसङ्गीतको मौलिक स्वरलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने अग्रणी कलाकारमध्ये पर्नुहुन्छ । गाउँघरका रोधी, मेलापात, विवाह, चाडपर्व र सांस्कृतिक परम्पराबाट सङ्गीत सिक्दै हुर्किनुभएकी उहाँले औपचारिक सङ्गीत शिक्षा नलिए पनि मौलिक लोकभाकालाई आफ्नै शैलीमा प्रस्तुत गर्दै विशिष्ट पहिचान बनाउनुभएको हो ।
करिब १२ वर्षको उमेरदेखि सार्वजनिक रूपमा गीत गाउन सुरु गर्नुभएकी उहाँ वि.सं. २०४० सालदेखि व्यावसायिक लोकसङ्गीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँका स्वरमा रहेका सयौँ लोकगीतले गुरुङ समुदायको मौलिक संस्कृति मात्र होइन, समग्र नेपाली लोकसङ्गीतलाई पनि समृद्ध बनाएको मानिन्छ । विशेषगरी गुरुङ समुदायका सांस्कृतिक गीतलाई राष्ट्रिय स्तरमा परिचित गराउन उहाँको योगदान उल्लेखनीय रहेको संगीतकर्मीहरूको भनाइ छ ।
लोकदोहोरी क्षेत्रमा आधुनिक प्रविधि र व्यावसायिक प्रतिस्पर्धा बढिरहेका बेला मौलिक लोकभाका जोगाउने चुनौती पनि बढ्दै गएको छ । यस्ता अवस्थामा अग्रज कलाकारको सम्मानमार्फत मौलिक संस्कृतिप्रति समाजको ध्यानाकर्षण गराउने प्रयास महत्वपूर्ण भएको सांस्कृतिक क्षेत्रका जानकारहरू बताउँछन ्।
आयोजकका अनुसार ‘माया गुरुङ साङ्गितिक साँझ’लाई नियमित सांस्कृतिक अभियानका रूपमा अघि बढाउने योजना छ । आगामी वर्षहरूमा पनि नेपाली लोकसङ्गीतमा विशिष्ट योगदान दिएका अन्य अग्रज कलाकारको सम्मान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने लक्ष्य राखिएको छ ।
चार दशकभन्दा बढी समय नेपाली लोकसङ्गीतको सेवामा समर्पित माया गुरुङप्रतिको सम्मान मात्र नभई कलाकारको सामाजिक सुरक्षा, मौलिक लोकभाकाको संरक्षण र नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाप्रति जिम्मेवार बनाउने उद्देश्यले आयोजना हुन लागेको यो साङ्गितिक साँझ लमजुङको सांस्कृतिक इतिहासमा एक विशेष कार्यक्रमका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्