बाबु–छोरालाई उमा कुङफु सङ्घको सम्मान

काठमाडौं, १२ साउन । नेपाली कराते खेलको विकास, अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका उपलब्धि तथा नयाँ पुस्तालाई खेलतर्फ प्रेरित गरेको योगदानको कदर गर्दै नेपाल उमा कुङफु सङ्घले करातेका चर्चित खेलाडी सुनिल लामा र उनका छोरा याङतेन लामालाई सम्मान गरेको छ । स्वयम्भूस्थित दि इलाइट को–एडमा आयोजित उमा कुङफु ग्रेडिङ कार्यक्रमको समापन समारोहमा दुवैलाई प्रशंसापत्रसहित विशेष सम्मान प्रदान गरिएको हो ।

नेपालमा मार्सल आट्र्सका विभिन्न विधाबीच सहकार्य र पारस्परिक सम्मानको संस्कृति विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कराते र उमा कुङफु क्षेत्रका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार नेपाली खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै नयाँ पुस्ताका प्रतिभालाई थप हौसला प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

सम्मानित सुनिल लामाले नेपाली करातेको इतिहासमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीका रूपमा परिचय बनाएका छन् । उनले बङ्गलादेशमा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेर नेपालको गौरव बढाएका थिए । त्यस्तै १३औँ एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगितासहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका उनले लामो समयदेखि नेपाली करातेलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिँदै आएका छन् ।

हाल अमेरिकाको न्युयोर्कमा बसोबास गरिरहेका सुनिलले त्यहाँ च्याम्पियन्स मार्सल आर्ट एकेडेमी स्थापना गरी कराते प्रशिक्षण सञ्चालन गरिरहेका छन् । विदेशमा बसेर पनि नेपाली खेलाडीलाई प्रशिक्षण, अवसर र अन्तर्राष्ट्रिय सम्पर्क विस्तारमा सहयोग गर्दै आएका उनी नेपाल र अमेरिकाबीच मार्सल आट्र्स क्षेत्रमा पुलको भूमिका निर्वाह गरिरहेको खेलकर्मीहरू बताउँछन् । काठमाडौंको रानीवनमा पनि सोही नामको शाखा सञ्चालनमा रहेको छ, जहाँ नियमित रूपमा खेलाडी प्रशिक्षण हुँदै आएको छ ।

यता उनका छोरा याङतेन लामाले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई उदीयमान कराते खेलाडीका रूपमा स्थापित गरिरहेका छन् । सानै उमेरदेखि निरन्तर प्रशिक्षण र प्रतियोगितात्मक अनुभव हासिल गरिरहेका याङतेनको उपलब्धिलाई सम्मान गर्दै सङ्घले विशेष कदर गरेको जनाएको छ ।

कार्यक्रममा इलाइट को–एडकी प्रिन्सिपल सम्झना कर्माचार्य कपाली, नेपाल उमा कुङफु सङ्घका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ तथा डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले दुवैलाई सम्मानपत्र प्रदान गरेका थिए । उनीहरूले खेलकुदमा निरन्तर समर्पण र अनुकरणीय योगदानका लागि बधाई दिँदै आगामी दिनमा पनि नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरे ।

यसै अवसरमा उमा कुङफुको ग्रेडिङमा सफल खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सुरेन्द्र थापा मगर र गोविन्दकुमार श्रेष्ठ ब्ल्याक बेल्ट दोस्रो डानमा पदोन्नति भए भने श्यामप्रसाद गौतम, सारदा गुरुङ चित्रकार, पुरुषोतमदास श्रेष्ठ, रविन्द्रप्रसाद श्रेष्ठ र रत्न राणा थापा ब्ल्याक बेल्ट पहिलो डानमा उक्लिएका छन् । ग्रेडिङ प्रक्रिया अन्तर्राष्ट्रिय निर्णायक तथा उमा कुङफु सङ्घका उपाध्यक्ष रमेश महर्जनले सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष संजीतकुमार राईले नेपाली करातेका स्थापित खेलाडी र नयाँ पुस्ताका प्रतिभालाई एउटै मञ्चमा सम्मान गर्न पाउँदा गर्व लागेको बताए । उनले विदेशमा रहेर पनि नेपाली खेलकर्मीलाई साथ दिइरहेको च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको भूमिकाको प्रशंसा गर्दै यस्ता सहकार्यले नेपाली खेलकुदलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

सम्मान ग्रहणपछि सुनिल लामाले आफ्नो योगदानको कदर गरेकोमा नेपाल उमा कुङफु सङ्घप्रति आभार व्यक्त गरे । उनले विदेशमा बसे पनि नेपाली खेलकुदको विकासमा निरन्तर साथ दिने प्रतिबद्धता जनाउँदै नयाँ पुस्ताका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्