काठमाडौं, १० साउन । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ग्राहकमुखी सेवा, डिजिटल बैंकिङ विस्तार तथा वित्तीय समावेशितामा पु¥याएको योगदानको कदर गर्दै बैंकलाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), कोलकत्ता ले प्रदान गर्ने प्रतिष्ठित “राइजिङ स्टार–ग्रोथ” अवार्डबाट सम्मानित गरेको हो । यो सम्मानले बैंकको अन्तर्राष्ट्रिय छवि थप मजबुत बनेको विश्वास गरिएको छ ।
बैंकले नयाँ दिल्लीमा जुलाई २४, २०२६ मा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवाड्र्स’ कार्यक्रममा उक्त सम्मान प्राप्त गरेको जनाएको छ । बिमस्टेक क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल, भारत, श्रीलंका, बंगलादेश र म्यानमारका बैंकहरूबीच उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।
महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यास मा उल्लेखनीय उपलब्धि हासिल गरेकाले “राइजिङ स्टार–ग्रोथ” विधामा सम्मान प्राप्त गरेको जनाएको छ ।
बैंकका अनुसार पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिमा गरिएको लगानी, ग्राहकलाई सहज, सुरक्षित र छिटो बैंकिङ सेवा उपलब्ध गराउने रणनीति तथा ग्रामीण र शहरी दुवै क्षेत्रमा वित्तीय सेवा विस्तारका प्रयासले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक मूल्याङ्कन प्राप्त गरेको हो ।
यो लगातार दोस्रो वर्ष हो, जब महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्सबाट सम्मान प्राप्त गरेको छ । गत वर्ष बैंक “सम्पत्ति गुणस्तर” (एसेट क्वालिटी) विधामा सम्मानित भएको थियो । यसपटक भने समग्र संस्थागत वृद्धि र नवप्रवर्तनलाई आधार बनाएर सम्मान प्रदान गरिएको हो ।
बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त यस्तो सम्मानले कुनै पनि बैंकको विश्वसनीयता, संस्थागत क्षमता तथा व्यवस्थापन दक्षताको पुष्टि गर्ने गर्छ । विशेषगरी दक्षिण एसियाली बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला यस्तो उपलब्धिले विदेशी साझेदारी, लगानीकर्ता र अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग सहकार्यको सम्भावना समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।
महालक्ष्मी विकास बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, विद्युतीय कारोबार तथा अन्य आधुनिक वित्तीय सेवाको विस्तारलाई तीव्रता दिएको छ । साथै, वित्तीय पहुँच नपुगेका क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै वित्तीय समावेशितालाई प्रोत्साहन गर्ने नीति पनि अवलम्बन गर्दै आएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रम, दिगो बैंकिङ अभ्यास तथा ग्राहककेन्द्रित सेवा सुधारलाई पनि संस्थागत प्राथमिकतामा राखेको जनाएको छ । यसले बैंकको व्यावसायिक वृद्धिसँगै सामाजिक दायित्व निर्वाहमा समेत सकारात्मक योगदान पुगेको विश्वास गरिएको छ ।
बैंकका अनुसार “राइजिङ स्टार–ग्रोथ” अवार्डले अन्तर्राष्ट्रिय बजारमा महालक्ष्मी विकास बैंकको पहिचान अझ सुदृढ बनाउन सहयोग पुग्नेछ । साथै यस सम्मानले कर्मचारी, ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको विश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
बिमस्टेक क्षेत्रका उत्कृष्ट बैंकहरूबीच प्रतिस्पर्धा हुने यस अवार्ड कार्यक्रमलाई दक्षिण एसियाको प्रतिष्ठित बैंकिङ मञ्चमध्ये एक मानिन्छ । वित्तीय नवप्रवर्तन, संस्थागत सुशासन, ग्राहक सेवा, दिगोपन र व्यवसायिक वृद्धि जस्ता सूचकका आधारमा बैंकहरूको मूल्याङ्कन गरिन्छ ।
अन्तर्राष्ट्रिय सम्मानसँगै महालक्ष्मी विकास बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, नवीन वित्तीय समाधान, सुरक्षित सेवा प्रणाली तथा ग्राहक सन्तुष्टिलाई अझ सुदृढ बनाउँदै प्रतिस्पर्धी बैंकिङ सेवाको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले यस उपलब्धिलाई सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी तथा सरोकारवालाको विश्वास र सहयोगको परिणामका रूपमा लिँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्