काठमाडौं, १० साउन । आगामी भदौ १९ गते, अर्थात् कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बा ः एक योद्धा’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्ट ले शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको टिजरले पारिवारिक सम्बन्ध, बुवाको त्याग, संघर्ष र एउटा अप्रत्याशित घटनाले परिवारमा ल्याउने पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।
करिब डेढ मिनेट लामो टिजरको सुरुआत ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादबाट हुन्छ । त्यसपछि मुख्य पात्र दिव्यदेव पन्त रगतले लतपतिएको अवस्थामा देखिन्छन् । उनको अनुहार, हाउभाउ र घर फर्किने दृश्यले उनी कुनै ठूलो दुर्घटना वा हिंसात्मक घटनाबाट गुज्रिएर आएको संकेत गर्छ। टिजरले दर्शकमा रहस्य र कौतुहल दुवै पैदा गर्न सफल देखिन्छ ।
घरको आँगनमा पुग्नेबित्तिकै दिव्यदेवको मानसपटलमा विगतका खुसीका क्षणहरू एकपछि अर्को गर्दै देखिन्छन् । परिवारसँग बिताएका रमाइला पल, हाँसो र आत्मीयता देखाइएपछि अचानक आउने विपत्तिले कथालाई गम्भीर मोडमा पु¥याउँछ । एउटी सानी छोरी ‘बा’ भन्दै कुदिरहेको दृश्य, गाउँलेहरू आत्तिँदै दौडिरहेको अवस्था र परिवारका सदस्यहरूको पीडाले कथाको भावनात्मक पक्षलाई थप गहिरो बनाएको छ ।
टिजरको सबैभन्दा मार्मिक क्षण त्यतिबेला देखिन्छ, जब संवाद सुनिन्छ– “आज बाउको मुख हेर्ने दिन, तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन ।” यही संवादले फिल्मको मूल भावलाई झल्काउँछ । त्यसपछि आमा–छोरीको भूमिकामा देखिएका झरना थापा र सुहाना थापा रोइरहेको दृश्यले एउटा सुखी परिवार कसरी एकाएक विखण्डित हुन्छ भन्ने संकेत गर्छ । यद्यपि, त्यो घटनाको वास्तविक कारण भने टिजरमा खुलाइएको छैन, जसले फिल्मप्रतिको उत्सुकता थप बढाएको छ ।
निर्माण पक्षका अनुसार ‘बा ः एक योद्धा’ नेपाली समाजमा बुवाले परिवार र सन्तानको भविष्यका लागि गर्ने संघर्ष, त्याग, जिम्मेवारी र जीवनभर बोक्नुपर्ने पीडाको कथा हो । पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले भावनात्मक कथावस्तुसँगै सामाजिक यथार्थलाई पनि उजागर गर्ने अपेक्षा गरिएको छ ।
फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र सवी थापा मुख्य भूमिकामा रहेका छन् । कलाकारहरूको संयोजनले फिल्मलाई थप सशक्त बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
फिल्मको कथा लेखन तथा निर्देशक हरि लम्सालले गर्नुभएको छ । आर्टिस्टिक इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुनुुहुन्छ भने शिवराम श्रेष्ठ ले छायांकन गर्नुभएको छ । फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रह्नु भएको छ । फिल्मको देशव्यापी वितरण कुवेर सिने डिस्ट्रिब्युसन ले गर्ने जनाइएको छ ।
पछिल्लो समय नेपाली फिल्म उद्योगमा पारिवारिक कथावस्तुमा आधारित चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । त्यसमाथि कुशे औंसीको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने भएकाले ‘बा ः एक योद्धा’ ले बुवा–सन्तानबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्दै दर्शकसँग विशेष सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ । निर्माण पक्षले टिजरपछि ट्रेलर, गीत तथा अन्य प्रचार सामग्री सार्वजनिक गर्दै प्रदर्शनअघिको प्रचार अभियानलाई थप तीव्र बनाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्