दिगो बैंकिङ प्रवद्र्धनमा कुमारी बैंक र मिनर्जी इनिसियटिभ्सबीच रणनीतिक साझेदारी

 

काठमाडौं, ८ साउन । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यासलाई संस्थागत रूपमा विस्तार गर्ने उद्देश्यले मिनर्जी इनिसियटिभ्ससँग रणनीतिक साझेदारी गरेको छ । हरित वित्त, वातावरण संरक्षण, जलवायु अनुकूल लगानी तथा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन् । साझेदारीअन्तर्गत समुदायको क्षमता अभिवृद्धि, दिगो उद्यम प्रवद्र्धन, हरित बैंकिङ अभ्यास विस्तार तथा जलवायुमैत्री वित्तीय कार्यक्रम सञ्चालनका विभिन्न क्षेत्रमा सहकार्य गरिने जनाइएको छ ।

बैंकका अनुसार यो सहकार्यले बैंकिङ सेवाबाट बाहिर रहेका वा सीमित पहुँच भएका समुदायलाई वित्तीय प्रणालीसँग जोड्ने, दिगो उद्यमशीलता विकास गर्ने तथा हरित परियोजनामा लगानीको वातावरण तयार पार्ने लक्ष्य लिएको छ । साथै, बैंकका कर्मचारी तथा लक्षित समुदायको क्षमता विकासमार्फत दिगो बैंकिङलाई व्यवहारमा उतार्ने योजनासमेत अघि सारिएको छ ।

कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र स्थानीय उद्यमीबीचको दूरी कम गर्न यस्तो सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँका अनुसार समुदायको वास्तविक आवश्यकता, वित्तीय पहुँच र बैंकिङ जोखिमलाई समग्र रूपमा बुझेर मात्र दिगो वित्तीय प्रणाली निर्माण गर्न सकिन्छ । यही उद्देश्यलाई मूर्तरूप दिन मिनर्जी इनिसियटिभ्ससँगको साझेदारी महत्वपूर्ण हुने उनको विश्वास छ ।

जलवायु परिवर्तन, वातावरण संरक्षण र दिगो विकास अहिले विश्वव्यापी प्राथमिकताका विषय बनेका छन् । पछिल्ला वर्षहरूमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पनि हरित बैंकिङ, नवीकरणीय ऊर्जा, वातावरणमैत्री व्यवसाय तथा दिगो पूर्वाधारमा लगानी विस्तार गर्न विशेष जोड दिँदै आएका छन् । कुमारी बैंकले यो साझेदारीलाई त्यही अभियानको निरन्तरताका रूपमा लिएको जनाएको छ ।

बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत दिगो बैंकिङसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा विस्तार गर्ने योजना बनाएको छ । हाल कुमारी बैंकले ३०६ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर, ५४ शाखारहित बैंकिङ सेवा केन्द्र तथा १,२३३ पीओएस टर्मिनलमार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अत्याधुनिक डिजिटल बैंकिङ सेवासमेत विस्तार गर्दै आएको बैंकले प्रविधिमैत्री, सुरक्षित र ग्राहकमुखी सेवा विकासलाई प्राथमिकतामा राखेको छ ।

बैंकका अनुसार मिनर्जी इनिसियटिभ्ससँगको यो रणनीतिक सहकार्यले हरित वित्तीय अभ्यासलाई संस्थागत बनाउनुका साथै जलवायु अनुकूल परियोजनामा लगानी प्रवद्र्धन, वित्तीय समावेशीकरण विस्तार र दिगो आर्थिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । बैंकिङ क्षेत्र र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै दीर्घकालीन आर्थिक तथा वातावरणीय दिगोपन हासिल गर्न यो साझेदारी महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्