गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक, डलर कार्डदेखि इन्टर बैंक क्यूआरमार्फत नगद झिक्न सकिने

काठमाडौं, ८ साउन । नयाँ आर्थिक वर्ष २०८३÷८४ को सुरुआतसँगै गरिमा विकास बैंक लिमिटेडले आफ्ना डिजिटल बैंकिङ सेवामा उल्लेखनीय विस्तार गरेको छ । ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ बैंकले एकैसाथ तीन नयाँ डिजिटल सेवा—गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टर बैंक क्यूआर टेलर सेवा—औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

बैंकका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा डिजिटल बैंकिङ र नगदरहित कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा ग्राहकको आवश्यकता र बजारको मागलाई मध्यनजर गर्दै यी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ सेवामार्फत व्यक्तिगत ग्राहक, व्यवसायी तथा विभिन्न बैंकका सेवाग्राहीलाई थप सहज र प्रविधिमैत्री सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

नयाँ सेवामध्ये गरिमा प्रिपेड डलर कार्ड विशेष आकर्षणका रूपमा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको वार्षिक सीमाभित्र रही ग्राहकहरूले यस कार्डमार्फत अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

विदेशी अनलाइन सेवा, सफ्टवेयर, डिजिटल सदस्यता, क्लाउड सेवा तथा अन्तर्राष्ट्रिय किनमेलका लागि यस कार्ड उपयोगी हुने अपेक्षा गरिएको छ । यसले विदेशी मुद्रा सटहीको जटिल प्रक्रिया बिना कानुनी व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गर्न सहज बनाउने विश्वास बैंकको छ ।

त्यसैगरी, बैंकले सार्वजनिक गरेको गरिमा पीओएस टर्मिनल सेवाले व्यापारिक क्षेत्रलाई लक्षित गरेको छ । यस प्रणालीमार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट र प्रिपेड कार्ड प्रयोग गरेर ग्राहकबाट सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन् । नगद कारोबारको निर्भरता घटाउँदै डिजिटल माध्यमबाट भुक्तानीको दायरा विस्तार गर्न यो सेवा प्रभावकारी हुने बैंकको अपेक्षा छ ।

साथै, कारोबारको अभिलेख व्यवस्थित रहने भएकाले व्यवसाय सञ्चालनलाई अझ पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

बैंकले सार्वजनिक गरेको अर्को महत्वपूर्ण सेवा गरिमा इन्टर बैंक क्यूआर टेलर हो । यस सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरेर बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन् । अन्तरबैंकीय क्यूआरमार्फत नगद भुक्तानी र निकासीको सुविधा नेपालमा विस्तार हुँदै गएको डिजिटल बैंकिङ अभ्यासको अर्को महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ ।

गरिमा विकास बैंकले डिजिटल रूपान्तरणलाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकतामध्ये एक बनाउँदै आएको जनाएको छ । बैंकका अनुसार आगामी दिनमा पनि ग्राहकको आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राख्दै नवीनतम डिजिटल बैंकिङ सेवा विस्तार गरिनेछ । सुरक्षित, सरल, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै ग्राहकको बैंकिङ अनुभवलाई अझ प्रभावकारी बनाउने लक्ष्य बैंकले अघि सारेको छ ।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा अत्याधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत करिब नौ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले क्ष्क्इ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र क्ष्क्इ २७००१ः२०२२ (सूचना सुरक्षा व्यवस्थापन प्रणाली) अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ । यी प्रमाणिकरणले बैंकको सेवा गुणस्तर, सूचना सुरक्षा तथा प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको बैंकको भनाइ छ ।

नेपालको बैंकिङ क्षेत्र डिजिटल प्रविधितर्फ तीव्र रूपमा उन्मुख भइरहेका बेला गरिमा विकास बैंकले सार्वजनिक गरेका यी तीन नयाँ सेवाले ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ अनुभव प्रदान गर्नुका साथै नगदरहित अर्थतन्त्रको प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्