काठमाडौँ, २९ असार । राजधानीका प्रमुख सञ्चारगृहहरूको प्रवेशद्वारमै सवारी आवागमन अवरुद्ध हुने गरी शंकास्पद रूपमा गाडी पार्क गरिएको घटनाले सुरक्षा व्यवस्थादेखि अभिव्यक्ति स्वतन्त्रतासम्मका विषयमा गम्भीर प्रश्न खडा गरेको छ । सोमबार बिहानै तीनकुने, बुद्धनगर र मध्यबानेश्वर क्षेत्रका मिडिया हाउसहरू अगाडि यस्तै प्रकृतिका घटनाहरू एकैसाथ देखिएपछि यसलाई सामान्य पार्किङ त्रुटिभन्दा बढी योजनाबद्ध गतिविधिका रूपमा हेर्न थालिएको छ ।
सोमबार बिहान करिब ६ बजेतिर तीनकुनेस्थित कान्तिपुर मिडिया समूहको कार्यालय गेट अगाडि बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी सिधै प्रवेशमार्ग अवरुद्ध हुने गरी पार्क गरिएको अवस्थामा फेला प¥यो । उक्त गाडी त्यहाँ अलपत्र छाडिएको थियो, जसका कारण गेटबाट अन्य सवारी साधन आवागमन गर्नै नसक्ने अवस्था सिर्जना भएको थियो । सञ्चारकर्मीहरू कार्यालय प्रवेश गर्न पुग्दा देखिएको यस दृश्यले सुरक्षासम्बन्धी आशंका बढाएको थियो ।
यस घटनापछि केही समयमै बुद्धनगरस्थित अनलाइनखबरको कार्यालय अगाडि पनि ठ्याक्कै उस्तै शैलीमा गाडी पार्क गरिएको जानकारी सार्वजनिक भयो । बा१२च ८५४५ नम्बरको गाडी त्यहाँ गेट अगाडि राखिएको थियो, जसले आवागमनमा अवरोध पु¥याएको थियो । त्यस्तै, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय प्रवेशमार्गमा समेत बा१०च १२५५ नम्बरको गाडी यसैगरी रोकेर राखिएको पाइयो ।
घटना मिडिया हाउसमा मात्र सीमित रहेन । अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पनि सडकमै गाडी पार्क गरेर आवागमन प्रभावित बनाइएको भेटिएको छ । यसअघि आइतबार नै न्यूरोड क्षेत्रमा पनि सडकमै गाडी रोकेर बजार अस्तव्यस्त बनाइएको घटना सार्वजनिक भइसकेको थियो । यी घटनाहरूलाई जोडेर हेर्दा, राजधानीका व्यस्त र संवेदनशील स्थानहरूलाई लक्षित गर्दै सवारी अवरोध सिर्जना गर्ने क्रम दोहोरिएको देखिन्छ ।
घटनापछि सम्बन्धित गाडीहरूको स्वामित्व र प्रयोगबारे प्रारम्भिक विवरणहरू पनि बाहिर आएका छन् । कान्तिपुर मिडिया हाउस अगाडि पार्क गरिएको गाडी सानिमा बैंकको नाममा दर्ता भएको देखिएको छ भने उक्त गाडी एसटी मोटर्समार्फत प्रयोगमा रहेको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ । सो गाडी रवि जयसवाल नामका व्यक्तिले चलाउने गरेको खुलेको छ, जो अघिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागसँग आबद्ध रहेको जानकारी प्राप्त भएको छ ।
त्यस्तै, अनलाइनखबरको गेट अगाडि पार्क गरिएको गाडी सुनील पौडेलको नाममा दर्ता भएको देखिएको छ भने हिमालयन टेलिभिजन अगाडि फेला परेको गाडी डिआर अटोमोटिभ्स, धुम्बाराहीको नाममा रहेको बताइएको छ । अनामनगरस्थित भाटभटेनी अगाडि पार्क गरिएको गाडीको स्वामित्व भने अहिलेसम्म खुलेको छैन ।
प्रहरीले मिडिया हाउस अगाडि पार्क गरिएका सबै गाडीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालय पु¥याएको जनाएको छ । घटनाको प्रकृति र समयक्रमलाई हेर्दा यसमा संलग्न व्यक्तिहरूको पहिचान र उद्देश्यबारे अनुसन्धान भइरहेको अनुमान गरिएको छ, यद्यपि आधिकारिक रूपमा विस्तृत अनुसन्धान निष्कर्ष सार्वजनिक भइसकेको छैन ।
यस घटनाप्रति राजनीतिक तथा पेशागत क्षेत्रबाट समेत प्रतिक्रिया आउन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गर्दै मिडिया हाउसहरूको गेटमा गाडी पार्क गरेर अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको ‘प्राण वायु’ भएको उल्लेख गर्दै यस्ता गतिविधिले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रभाव पार्ने चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीलगायत विभिन्न संघसंस्था र राजनीतिक दलहरूले पनि छुट्टाछुट्टै विज्ञप्तिमार्फत दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले सञ्चारगृहको पहुँचमै अवरोध सिर्जना गर्नु केवल यातायात समस्या नभई प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष दबाबको संकेत हुन सक्ने बताएका छन् ।
विश्लेषकहरूका अनुसार, मिडिया हाउसजस्ता संवेदनशील संस्थाहरूको प्रवेशमार्गमै अवरोध सिर्जना हुनु सामान्य प्रशासनिक त्रुटि मात्र नभई गम्भीर सुरक्षात्मक प्रश्नको विषय हो । यस्ता घटनाले सञ्चारकर्मीको कार्यक्षेत्रमा अवरोध ल्याउनुका साथै समाचार संकलन र प्रसारण प्रक्रियामा समेत असर पार्न सक्छ ।
यसैबीच, घटनाको समय र स्थानको चयनले पनि प्रश्न उठाएको छ । बिहानको समयमा, जब सञ्चारकर्मीहरू कार्यालय प्रवेश गर्ने क्रम सुरु हुन्छ, त्यही समयमा गेटमै गाडी राखिनु र एकै दिनमा विभिन्न स्थानमा समान प्रकृतिका घटना देखिनुले यसको उद्देश्यबारे शंका उत्पन्न भएको छ ।
यद्यपि, अहिलेसम्म कुनै समूह वा व्यक्तिले यसको जिम्मेवारी लिएको छैन र सरकारी निकायले पनि औपचारिक रूपमा यसलाई सुनियोजित गतिविधि ठहर गरेको छैन । त्यसैले, अनुसन्धानको निष्कर्ष नआएसम्म यसलाई निश्चित रूपमा योजनाबद्ध वा आकस्मिक भन्न सकिने अवस्था छैन ।
राजधानीका प्रमुख सञ्चारगृह र सार्वजनिक स्थलहरूलाई लक्षित गर्दै गरिएको सवारी अवरोधका घटनाले सुरक्षा सतर्कता, कानुनी कार्यान्वयन र प्रेस स्वतन्त्रताको संरक्षणसम्बन्धी बहसलाई पुनः तीव्र बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्