नेत्रप्रसाद न्यौपाने
काठमाडौं, २७ असार । काठमाडौंको धोबीखोलामा हाम फालेर एक सुकुम्बासी महिलाले आत्महत्या गरेकी छिन । त्रिपुरेश्वरको राहदानी विभागअगाडि एक युवाले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गरेका छन । सर्लाहीमा अर्को युवाले गरेको आत्मदाहको प्रयास गरेका छन । काठमाडौंको बुद्धनगरमा अर्का एक पुरूषले पनि आत्मदाहको प्रयास गरेका छन् । यि सबै प्रतिनिधि मुलक घटना हुन ।
शनिबार बिहान सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्दै आएका पुरूषले आत्मदाहको प्रयास गरेका हुन् । पुरूष ४५ वर्षीय अश्विन राउत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरायसी कारणले राउतले आफैमाथि आगो लगाएको हुन सक्ने देखिएको छ । उनलाई उद्धार गरी वीर अस्पताल पु¥याइएको छ । उनको शरीरमा ५० प्रतिशत जलन रहेको एसपी भट्टराईले बताएका छन ।
यस्तै,बिहीबार कालोपुल र रातोपुलबीचको धोबीखोलामा हामफालेक थिइन ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी थिइन । अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ । यद्यपि उनको परिचय भने खुलिसकेको छैन । के कारणले उनले खोलामा हाम फालिन् भन्ने नखुले पनि सरकारले वासस्थान खोसेपछि निरास भएर आत्महत्या रोजेको अनुमान गर्न सकिन्छ ।
सुकुम्बासी इन्द्र राईले वासस्थान खोसिनासाथ आत्महत्या गरेका थिए । अब कति जनाले आत्महत्या गरेपछि वासस्थान पाउने हो ? ।
यो कथा हजारौँ सुकुम्बासीको साझा पीडा हो । अस्थायी बासस्थान, अनिश्चित भविष्य, सामाजिक उपेक्षा र आर्थिक अभावले मानिसलाई कति गहिरो निराशामा पु¥याउँछ भन्ने यसको उदाहरण हो । जब मानिसले आफ्नो अस्तित्व सुरक्षित छैन भन्ने महसुस गर्छ, तब जीवनप्रतिको भरोसा कमजोर हुँदै जान्छ ।
यसैगरी,त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा शुक्रबार दिउँसो निधन भएको छ ।
मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनामा सरकारको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएको भिडिओ पनि सार्वजनिक भएको छ ।
विवाद भएपछि गणेश मोटरसाइकलमै सवार रहेको अवस्थामा ह्वील लक लगाइएको भिडिओमा देखिएको छ । महानगरले गाडीमा हालेर मोटरसाइकल लैजान खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई गम्भीर घाइते अवस्थामा वीर अस्पताल पु¥याइएको थियो ।
राज्य आतंकका कारण एक युवाले आफ्नो शरिरमा आगो सल्काउँदा राज्य मुकदर्शक भएको छ । ‘शरीर आयोगमा जलिरहेको छ, राज्यले एम्बुलेन्स पठाएन । बरू प्रहरी प्रशासन लगाएर अपराधीझैंं घिसारेर लग्यो । यो उद्धार हो कि गिरफ्तारी हो ? के ऊ देशद्रोही हो ? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यहीँ काम ग¥यो । राज्य यति निरिह र असफल भइसकेको छ ।
प्लास्टिक सर्जन डा. दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो ।
भक्तपुरको कमलविनायकमा बस्दै आएका गणेश पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाउने काम गर्थे । त्यही कामबाट परिवार चलिरहेको थियो ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्ष अगाडि काठमाडौं छिरेका थिए । कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेका गणेशले जीवन सजिलो होला भन्ने आशामा काठमाडौं रोजेका थिए । तर रोजगारी मिलेन ।
गणेशका श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् । ६ वर्षअघि विवाह गरेका गणेशको कमाइले नै परिवार धानिन्थ्यो ।
गणेश नेपालीको कथा पीडादायी र प्रतिनिधिमूलक छ । मुगुबाट काठमाडौं आएका उनी, शिक्षित भएर पनि स्थायी रोजगारी नपाएपछि राइड–सेयरिङबाट परिवार धानिरहेका थिए । परिवारको सम्पूर्ण जिम्मेवारी बोकेका उनले अन्ततः किन यस्तो कदम रोजे ? एउटा सामान्य प्रशासनिक विवाद किन यति ठूलो विस्फोटमा परिणत भयो ? यसले देखाउँछ जब मानिस लामो समयसम्म दबाब, अन्याय र असुरक्षामा बाँचिरहेको हुन्छ, सानो घटना पनि अन्तिम ट्रिगर बन्न सक्छ ।
त्यस्तै, सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको घटनाले पनि यही संकेत गर्छ ग्रामीण क्षेत्रदेखि शहरी केन्द्रसम्म फैलिएको यो समस्या कुनै एक स्थान विशेषको होइन, समग्र प्रणालीको कमजोरी हो ।
मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार केही वर्षयता आत्महत्याका घटनामा वृद्धि भएको छ । आर्थिक, सामाजिक, पारिवारिक, शैक्षिक तथा मनोवैज्ञानिक दबाबसँगै समयमै उपचार नपाउँदा मानसिक स्वास्थ्य चुनौतीपूर्ण बन्दै गएको विज्ञहरूको भनाइ छ ।
मधेसमा आत्महत्याको तथ्याङ्क अनुसार २०७७÷०७८ मा ९५९ जना, २०७८÷०७९ मा १,०१८ जना,२०७९÷०८० मा १,१३४ जना, २०८०÷०८१ मा १,२८८ जना र २०८१÷०८२ मा १,२६१ जनाले आत्महत्या गरेका छन ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, नेपाल–२०७७ अनुसार १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या देखिएको छ । नेपालमा नसर्ने रोगको कुल भारमध्ये करिब १८ प्रतिशत हिस्सा मानसिक रोगले ओगटेको तथ्याङ्कले देखाउँछ ।
यी घटनाहरूले नेपाली समाजमा मौन रूपमा बढिरहेको गहिरो संकटलाई उजागर गर्छन् । यो संकट केवल मानसिक स्वास्थ्यको होइन; यो आर्थिक, सामाजिक, नीतिगत र मानवीय संवेदनशीलताको संयुक्त विफलताको परिणाम हो । आज आत्महत्या व्यक्तिगत निर्णयभन्दा धेरै माथि उठेर राष्ट्रिय चिन्ताको विषय बनेको छ ।
नेपालमा आत्महत्याको दर विगत केही वर्षदेखि निरन्तर बढ्दो छ । उपलब्ध तथ्याङ्कअनुसार दैनिक औसत २० जनाले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई आत्महत्या दर उच्च भएका मुलुकमध्ये राखेको छ । अझ चिन्ताजनक कुरा के छ भने, यो समस्या उमेर, वर्ग, भूगोल वा पेशाको सीमाभित्र सीमित छैन । किशोर, युवा, वयस्क सबै तहमा मानसिक दबाब र निराशा बढ्दै गएको देखिन्छ ।
नेपालमा मानसिक स्वास्थ्यलाई अझै पनि प्राथमिक स्वास्थ्य सेवाको रूपमा स्थापित गर्न सकिएको छैन । धेरैजसो मानिस मानसिक समस्या भए पनि लुकाएर बस्ने गर्छन् । सामाजिक लाञ्छना, जानकारीको अभाव र सेवा पहुँचको कमीले समस्या झन् जटिल बनाउँछ ।
राष्ट्रिय सर्वेक्षणहरूले देखाए अनुसार किशोरकिशोरीमा समेत मानसिक समस्या बढ्दो छ । चिन्ता, अवसाद, तनाव, निन्द्रा समस्या र लागुऔषधको प्रभावले युवाहरू बढी प्रभावित भइरहेका छन् । चिकित्सकहरूका अनुसार धेरै बिरामी ढिलो चरणमा मात्र अस्पताल पुग्छन्, जसले उपचार कठिन बनाउँछ ।
मनोवैज्ञानिकहरूको अनुभव अनुसार समयमै परामर्श र सहयोग पाए अधिकांश अवस्थामा सुधार सम्भव हुन्छ । तर हाम्रो समाजमा अझै मानसिक स्वास्थ्यलाई कमजोरीका रूपमा हेर्ने प्रवृत्ति हट्न सकेको छैन ।
आत्महत्याको बढ्दो प्रवृत्तिको अर्को प्रमुख कारण आर्थिक अस्थिरता हो । रोजगारीको अभाव, न्यून आय, अस्थायी काम र बढ्दो जीवनयापन खर्चले मानिसलाई मानसिक रूपमा कमजोर बनाउँछ ।
नेपालका धेरै युवाहरू शिक्षित भएर पनि उपयुक्त रोजगारी नपाएर विदेश पलायन भइरहेका छन् । देशभित्र बस्नेहरू अस्थिर आम्दानी र भविष्यप्रति अनिश्चिततामा बाँचिरहेका छन् । यस्तो अवस्थामा आत्मसम्मान, आत्मविश्वास र जीवनप्रतिको आशा कमजोर हुँदै जान्छ ।
गणेश नेपालीजस्ता हजारौँ युवा छन जसले परिवारको जिम्मेवारी बोकेका छन् तर स्थिर अवसर पाएका छैनन् । जब जिम्मेवारी र स्रोतबीच ठूलो अन्तर हुन्छ, तब मानिस मानसिक रूपमा थकित हुन्छ ।
परिवार र समुदाय नेपाली समाजको बलियो आधार मानिन्छ ।
तर पछिल्ला वर्षहरूमा सामाजिक संरचनामा आएको परिवर्तनले व्यक्तिहरूलाई एक्लोपनतर्फ धकेलेको छ । शहरीकरण, वैदेशिक रोजगारी, परिवार विखण्डन र सामाजिक सम्बन्ध कमजोर हुनु पनि मानसिक स्वास्थ्यमा असर पार्ने कारक हुन् । अझै पनि धेरै परिवारमा मानसिक समस्याबारे खुला संवाद हुँदैन । समस्या लुकाउने, सहन गर्ने वा बेवास्ता गर्ने प्रवृत्तिले स्थिति गम्भीर बनाउँछ ।
मनोचिकित्सका अनुसार केही वर्षयता चिन्ता, डिप्रेसन, निन्द्रा नलाग्ने, अत्यधिक तनाव तथा लागुऔषधको असरका कारण मानसिक समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको छ । अहिले किशोरकिशोरीदेखि वयस्कसम्म मानसिक तनाव, चिन्ता, आत्मविश्वासको कमी, पारिवारिक विवाद, अध्ययन तथा रोजगारीको दबाबका कारण आत्माहत्या गर्ने सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
तथ्याङ्क अनुसार मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या गर्ने सङ्ख्या धेरै छन् । समाजमा उत्पन्न त्यस्ता मानसिक स्वास्थ्य समस्याको कारण पहिचान गरी त्यसको रोकथामका लागि मनोसामाजिक सहयोग र मानसिक स्वास्थ्य सेवामा पहुँच पु¥याउने दायित्व स्थानीय सरोकारवालाको हो । यस प्रकारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्रवाहका लागि सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्थानीय सरकारले आवश्यक स्रोतसाधन तथा जनशक्तिको व्यवस्थापन गर्नु पर्छ ।
सरकारले मानसिक स्वास्थ्य सेवा विस्तार, औषधि उपलब्धता र परामर्श सेवा प्रवद्र्धन गर्ने प्रयास गरेको जनाएको छ । तर व्यवहारमा सेवा पहुँच सीमित छ । ग्रामीण क्षेत्रमा विशेषज्ञ अभाव, शहरी क्षेत्रमा महँगो सेवा र समन्वयको कमी देखिन्छ ।
हालका घटनाहरूले प्रशासनिक व्यवहारमाथि पनि प्रश्न उठाएका छन् । नागरिकसँग व्यवहार गर्दा संवेदनशीलता र सहानुभूति आवश्यक हुन्छ । तर कतिपय अवस्थामा नियन्त्रणमुखी दृष्टिकोण देखिएको आरोप लागिरहेको छ ।
राजनीतिक स्तरमा पनि यस्ता घटनाले बहस जन्माएका छन् । सरकारको प्रतिक्रिया, मौनता वा ढिलाइले नागरिकको विश्वासमा असर पार्छ ।
नेपालमा प्रत्येक वर्ष हजारौँ मानिसले आत्महत्या गर्ने गरेका छन् । केही वर्षयता यो संख्या बढ्दो क्रममा छ । मधेस प्रदेशमा मात्रै केही वर्षमा उल्लेखनीय वृद्धि देखिएको छ ।
विश्वस्तरमा पनि आत्महत्या ठूलो सार्वजनिक स्वास्थ्य समस्या हो । प्रत्येक वर्ष लाखौँ मानिसको आत्महत्याका कारण मृत्यु हुन्छ । दक्षिण तथा पूर्वी एसिया क्षेत्रमा यसको दर उच्च छ, जसमा नेपाल पनि पर्छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा नेपाल बढी आत्महत्या हुने देशको आठौँ स्थानमा छ । नेपालको आत्महत्या दर प्रति एक लाखमा २४.९ उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार दक्षिण तथा पूर्वी एसिया क्षेत्र विश्वमा सबैभन्दा बढी आत्महत्या हुने क्षेत्र हो । विश्वमा हुने आत्महत्यामध्ये ३९ प्रतिशत आत्महत्या यही क्षेत्रका निम्न तथा मध्यम आय भएका मुलुकमा हुने गर्छ । यस क्षेत्रका कृषिमा आधारित मानिसले मुख्य रूपमा विषादीको सेवन गरी आत्महत्या गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच हजार ७५४ जना, आर्थिक वर्ष २०७६÷७७ मा छ हजार २४१ जना र आर्थिक वर्ष २०७७÷७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । त्यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा छ हजार ८३० जना रहेका छन्।
नेपालमा आर्थिक वर्ष २०८०÷०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्याङ्कबारे जानकारी गराइएको हो ।
नेपालमा वयस्कमा ६.५ प्रतिशत, किशोर किशोरीमा ३.९ प्रतिशत र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाले आत्महत्या गर्ने सोच राख्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औँ कारण रहेको छ । विश्वमा वार्षिक सात लाख मानिस आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्याङ्क रहेको छ ।
विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ ।
यो समस्या समाधान गर्न बहुआयामिक रणनीति आवश्यक छ ।स्थानीय तहसम्म परामर्श सेवा, हेल्पलाइन, समुदायस्तरीय सहयोग प्रणाली विकास गर्नुपर्छ । मानसिक स्वास्थ्यबारे खुला संवाद, विद्यालयस्तरबाट शिक्षा र जनचेतना अभियान आवश्यक छ । रोजगारी सिर्जना, सीप विकास र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउनुपर्छ । नागरिकसँग व्यवहार गर्दा सहानुभूति र मानव अधिकारको सम्मान अनिवार्य हुनुपर्छ ।
विश्वसनीय तथ्याङ्क संकलन, अनुसन्धान र नीतिगत निर्णयबीच समन्वय आवश्यक छ ।
आज आत्महत्या नेपालमा मौन महामारीको रूपमा फैलिँदैछ । यो केवल व्यक्तिगत कमजोरी होइन; यो हाम्रो समाज, अर्थतन्त्र र शासन प्रणालीको प्रतिबिम्ब हो । धोबीखोलाको घटना, गणेश नेपालीको पीडा, विवेक मण्डलको आत्महत्या प्रयास । यी सबैले एउटै कुरा भन्छन नागरिकहरू सहयोग खोजिरहेका छन् ।
यदि हामीले अहिले पनि यसलाई गम्भीर रूपमा लिएनौँ भने, भविष्यमा यस्ता घटनाहरू अझ बढ्ने निश्चित छ । त्यसैले अब ढिला गर्ने समय छैन । आत्महत्या रोकथामलाई राष्ट्रिय प्राथमिकतामा राख्दै समन्वित, संवेदनशील र प्रभावकारी कदम चाल्नु आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्