एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

धरान (सुनसरी), २७ असारः सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ । पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।
त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ । रामधुनी जङ्गलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् । रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको उहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार सङ्घीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको छ । उहाँका अनुसार सङ्घीय सरकारको रु एक करोड ३५ लाखबाट निर्माण गरिएको १०८ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ । धारा निमार्ण भएपछि यहाँ मन्दिरमा आउने तिर्थालुले स्नान गर्न पाउनुका साथै यसले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी राधुनी मन्दिर परिसरमा सङ्घीय सरकार र रामधुनी नगरपालिकाको आधा आधा लगानी गर्ने गरी रु दुई करोडको लगानीमा धर्मशाला निर्माण भइरहेको छ । साथै कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको रु ५० लाखबाट तपस्वीथानमा सिँढी तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भएको छ । गुठी संस्थानको रु पाँच लाख सहयोगमा यस अघि सीताको मूर्ति निर्माण गरिएको समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीका अनुसार मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार तथा अन्य आवश्यक संरचना निर्माण भइसकेका छन् । साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणको काम पनि अघि बढेको छ ।
इटहरीबाट घुम्न आउनुभएका सन्जोग श्रेष्ठले मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराले रामधुनीको आकर्षण थप बढाएको बताउनुभयो । यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ छ । व्यवस्थापन समितिका अनुसार मन्दिरमा भक्तजनको आगमन बढ्दै गएको छ । प्राकृतिक वातावरण, धार्मिक आस्था र नयाँ पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्