पेनाल्टीमा नेदरल्यान्ड्स स्तब्ध, ब्राजिलले जापानमाथि पुनरागमन जित्दै अन्तिम १६ मा स्थान बनायो

काठमाडौं, १६ असार । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का खेलहरूमा मोरक्को र ब्राजिलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ऐतिहासिक सफलता हात पार्दा, पाँच पटकको विश्व विजेता ब्राजिलले जापानविरुद्ध पुनरागमन जित निकाल्दै आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सले दोस्रो हाफमा अग्रता बनाएको थियो । खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले क्राइसेन्सियो समरभिलको पासलाई सदुपयोग गर्दै गोल गरेपछि नेदरल्यान्ड्स जितको नजिक पुगेको देखिएको थियो । तर खेलको इन्जुरी समयमा मोरक्कोका इसा डिओपले चेम्सडाइन ताल्बीको उत्कृष्ट पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए । अन्तिम समयमा आएको उक्त गोलले खेललाई थप रोमाञ्चक बनाएको थियो ।

पेनाल्टी सुटआउटमा सुरुआत मोरक्कोका लागि सुखद रहेन । पहिलो प्रहार गोलमा परिणत गर्न नसकेको मोरक्कोलाई नेदरल्यान्ड्सले अग्रता लिएको थियो । तर त्यसपछि डच टोलीका खेलाडीहरूले लगातार अवसर गुमाउँदा मोरक्कोले पुनरागमन ग¥यो । निर्णायक क्षणमा मोरक्कोका गोलरक्षकले नेदरल्यान्ड्सको अन्तिम प्रहार उत्कृष्ट रूपमा बचाएपछि मोरक्कोले अन्तिम प्रहारलाई गोलमा परिणत गर्दै ३–२ को जित निकाल्यो । हारसँगै नेदरल्यान्ड्सको विश्वकप यात्रा समाप्त भएको छ भने मोरक्कोले लगातार दोस्रो विश्वकपमा नकआउट चरणमा आफ्नो प्रभाव देखाएको छ ।

यसअघि बोस्टनमा सम्पन्न अर्को खेलमा पाराग्वेले जर्मनीलाई सडन डेथमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि उक्त खेल पनि पेनाल्टी सुटआउटमा पुगेको थियो । जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल बनेको छ ।

 

यता अमेरिकाको ह्युस्टनमा भएको अर्को रोमाञ्चक खेलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै ब्राजिलले आफ्नो अनुभव र दबाब झेल्ने क्षमता पुनः प्रमाणित गरेको हो ।

जापानले खेलको २९औँ मिनेटमा काइसु सानोको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफभर ब्राजिलले बराबरी गोल फर्काउन नसक्दा जापान आत्मविश्वासका साथ दोस्रो हाफमा प्रवेश गरेको थियो । तर ५६औँ मिनेटमा अनुभवी मिडफिल्डर कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ब्राजिलले लगातार आक्रमण जारी राख्यो र इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै टोलीलाई २–१ को महत्वपूर्ण जित दिलाए ।

यससँगै विश्वकप उपाधिको बलियो दाबेदार मानिएको ब्राजिलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ भने जापानको चुनौती समाप्त भएको छ । नकआउट चरणमा ब्राजिल र मोरक्को दुवैले दबाबपूर्ण अवस्थाबाट पुनरागमन गर्दै जित निकालेपछि दुवै टोलीको आत्मविश्वास थप बढेको छ । अब उनीहरू क्वार्टरफाइनल प्रवेशका लागि अर्को कठिन चुनौती सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्