‘लज्जावती’को पोस्टर सार्वजनिक, साउन २९ देखि प्रदर्शनमा

काठमाडौं, १३ असार । आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘लज्जावती’ले आफ्ना मुख्य पात्रहरूलाई केन्द्रमा राख्दै पाँच वटा क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

निर्माण टिमले शुक्रबार एकैसाथ सार्वजनिक गरेका पोस्टरमार्फत चलचित्रका प्रमुख कलाकारहरूको फरक–फरक रूप, स्वभाव र कथाको झलक प्रस्तुत गरिएको हो ।

सार्वजनिक पोस्टरहरूले चलचित्रको कथा प्रेम, परिवार, सम्बन्ध र सामाजिक यथार्थमा आधारित रहेको संकेत गरेका छन् । प्रत्येक पोस्टरमा पात्रहरूको भाव, परिवेश र आपसी सम्बन्धलाई फरक शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता बढाउने विश्वास निर्माण पक्षको छ ।
एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मालाई रोमान्टिक मुद्रामा देख्न सकिन्छ । सार्वजनिक पोस्टरले चलचित्रमा प्रेमकथा महत्वपूर्ण पक्षका रूपमा रहेको संकेत गर्छ । अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा बसेको देख्न सकिन्छ भने जानुका विश्वकर्मा र मेनुका माझीलाई पनि सँगै देख्न सकिन्छ । यसले चलचित्रमा हास्य, पारिवारिक सम्बन्ध र भावनात्मक पक्षलाई समेत समेटिएको अनुमान गर्न सकिन्छ ।

यस्तै अर्को पोस्टरमा मुकुन भुसाल, श्रीकृष्ण निरौला र मेनुका माझीलाई गम्भीर भावमा प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा ग्रामीण तथा सहरी परिवेशको संयोजन देख्न सकिन्छ, जसले कथावस्तु समाजका विभिन्न तह र परिवेशसँग जोडिएको हुन सक्ने संकेत दिएको छ ।

निर्माण टिमका अनुसार चलचित्रले प्रेमकथासँगै सामाजिक सम्बन्ध, पारिवारिक मूल्य र मानवीय संवेदनालाई पनि प्राथमिकताका साथ प्रस्तुत गर्ने प्रयास गरेको छ ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक राजबहादुर साने हुनुहुन्छ । चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता सौरभ वली रह्नुभएको छ भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माताको रुपमा रह्नुभएको छ ।

दिनेश बुढाथोकी कार्यकारी निर्माताको भूमिकामा हुनुहुन्छ । दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण जनाइएको छ ।

पोस्टर सार्वजनिक भएसँगै ‘लज्जावती’ले प्रेम, सामाजिक यथार्थ र पारिवारिक सम्बन्धलाई समेट्ने फरक स्वादको चलचित्र हुने अपेक्षा गरिएको छ । अब प्रदर्शनअघि सार्वजनिक हुने ट्रेलर र गीतहरूले दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता अझ बढाउने निर्माण पक्षको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्