काँक्रेविहार (सुर्खेत), १० असार । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा यातायात क्षेत्रबाट ३१ करोड २३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारीस्थित यातायात कार्यालयमार्फत सङ्कलित राजस्वले प्रदेशको आन्तरिक आम्दानीमा महत्वपूर्ण योगदान पु¥याएको देखिएको छ ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ । प्रदेशको यातायात क्षेत्र राजस्व सङ्कलनका दृष्टिले महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार राजस्व सङ्कलनमा यातायात व्यवस्था कार्यालय सुर्खेत अग्रस्थानमा रहेको छ । उक्त कार्यालयले ११ महिनाको अवधिमा रु २६ करोड ७० लाख १५ हजार ३४४ राजस्व सङ्कलन गरेको छ, जुन कुल राजस्वको ठूलो हिस्सा हो । प्रदेशको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा रहेको सुर्खेतमा सवारीसाधन दर्ता, नवीकरण तथा अन्य सेवाको चाप बढी भएकाले राजस्व सङ्कलन पनि उल्लेख्य रहेको बताइएको छ ।
त्यसैगरी यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी ले रु तीन करोड पाँच लाख ६३ हजार ३२१ राजस्व सङ्कलन गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्ला ले रु एक करोड ४७ लाख ७३ हजार २०५ राजस्व सङ्कलन गरेको मन्त्रालयले जनाएको छ ।
तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा सवारीसाधन कर नै राजस्वको प्रमुख स्रोत बनेको छ । प्रदेशले सङ्कलन गरेको कुल राजस्वमध्ये झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करबाट प्राप्त भएको देखिन्छ । जेठ मसान्तसम्म सवारीसाधन कर शीर्षकबाट मात्रै रु २४ करोड ९७ लाख राजस्व सङ्कलन भएको छ ।
सवारी करतर्फ सुर्खेतले रु २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले रु दुई करोड ६६ लाख ५१ हजार तथा जुम्लाले रु ७३ लाख ६५ हजार राजस्व सङ्कलन गरेका छन् । यसले प्रदेशको राजस्व संरचनामा यातायात क्षेत्रको निर्भरता अझै उच्च रहेको संकेत गर्छ ।
आर्थिक विश्लेषकहरूका अनुसार कर्णालीमा औद्योगिक तथा व्यावसायिक गतिविधि सीमित रहेकाले सवारीसाधन कर, दर्ता शुल्क, नवीकरण शुल्क तथा यातायातसम्बन्धी सेवाबाट प्राप्त आम्दानी नै प्रदेशको आन्तरिक राजस्वको मुख्य आधार बनेको छ । पछिल्ला वर्षहरूमा सडक सञ्जाल विस्तार, सवारीसाधनको संख्या वृद्धि तथा यातायात सेवामा पहुँच बढ्दै जाँदा राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको देखिएको छ ।
प्रदेश सरकारले आगामी वर्षहरूमा राजस्वका स्रोतहरू थप विविधीकरण गर्दै आन्तरिक आय बढाउने रणनीति अघि बढाइरहेको जनाएको छ । तथापि, हालका लागि यातायात क्षेत्र नै कर्णाली प्रदेशको राजस्व सङ्कलनको सबैभन्दा भरपर्दो र प्रभावकारी आधार बनेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्