काठमाडौं, १० असार । नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारहरूको आगमनसँगै कमेडी कथावस्तुमा आधारित नयाँ सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको शुभारम्भ भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो ।
लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने सिनेमाले दर्शकलाई मनोरञ्जनात्मक कथा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ । असारको अन्तिम सातादेखि छायांकन सुरु गर्ने तयारी गरिएको सिनेमाको पूर्व–निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको जनाइएको छ ।
सिनेमाको विशेष आकर्षणका रूपमा चर्चित लोकगायक पशुपति शर्मा को अभिनय डेब्यु रहनेछ । नेपाली लोकसंगीत क्षेत्रमा लोकप्रियता कमाएका शर्माको चलचित्रमा अभिनय पहिलो पटक हो । त्यस्तै चर्चित गायिका अञ्जु पन्त की छोरी पारितोषिका पन्त ले पनि यही सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गर्ने भएकी छन् ।
निर्माण टिमका अनुसार पशुपति शर्मा र पारितोषिकासहित केही अन्य नयाँ तथा प्रतिभावान कलाकारहरूले पनि यही सिनेमाबाट चलचित्र क्षेत्रमा पाइला टेक्नेछन् । यद्यपि ती कलाकारहरूको नाम भने हाल सार्वजनिक गरिएको छैन । निर्देशक सापकोटाका अनुसार सिनेमा पूर्ण रूपमा हास्यप्रधान तथा पारिवारिक मनोरञ्जनले भरिपूर्ण हुनेछ ।
निर्माता रघुनाथ सापकोटाका अनुसार रघुजी फिल्म्सले यसअघि घोषणा गरेका केही चलचित्र प्राविधिक तथा व्यवस्थापकीय कारणले केही समयका लागि पछाडि सरेका थिए । त्यसैले अहिले ‘तीन तीघ्रे क्या बिग्रे’लाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।
सिनेमाको वितरण व्यवस्थापनसमेत प्रारम्भिक चरणमै टुंगो लगाइएको छ । नेपालभित्र प्रदर्शन अधिकार आरआर फिल्म्सले सम्हाल्ने भएको छ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ । विदेश प्रदर्शनका लागि विभिन्न वितरक र कम्पनीहरूले चासो देखाएको निर्माण पक्षले जनाएको छ । तर निर्माण कार्य सम्पन्न भएपछि मात्रै अन्तर्राष्ट्रिय वितरणबारे अन्तिम निर्णय गरिने बताइएको छ ।
नयाँ कलाकारहरूको आगमन, चर्चित गायकको अभिनय डेब्यु र मनोरञ्जनात्मक कथावस्तुका कारण ‘तीन तीघ्रे क्या बिग्रे’ले प्रारम्भिक चरणदेखि नै दर्शक र चलचित्रकर्मीहरूको ध्यान आकर्षित गर्न थालेको छ । निर्माण टिमले छायांकन सुरु भएसँगै कलाकारहरूको विस्तृत सूची तथा थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्