दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल

दार्चुला, २२ जेठः विद्युत् भार कटौतीका कारण राति अन्धकार हुने दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल बनेका छन् । महाकाली नगरपालिका–९ को बेतदेखि सदरमुकाम खलङ्गा हुँदै वडा नं १ को श्रीबगडसम्मको मुख्य राजमार्गमा सौर्यबत्ती जडान गरेपछि रातिको आवतजावत सहज बनेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानमा नगरपालिकाले सौर्य ऊर्जामार्फत सडक बत्ती जडान गरेको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बेतदेखि खलङ्गासम्म २०७ वटा सडकमा सौर्यबत्ती जडान गरिएको छ ।
“विद्युत् भार कटौती भए पनि अब सडक अन्धकार हुँदैन”, उहाँले भन्नुभयो, “रातिको समयमा हुने सम्भावित दुर्घटना तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि यो योजना प्रभावकारी हुने अपेक्षा गरिएको छ ।”
सूचना अधिकारी जोशीका अनुसार प्रदेश सरकारले कुल रु दुई करोड ६४ लाख समपूरक अनुदान उपलब्ध गराएको थियो । नगरपालिकाले बोलपत्र आह्वान गरी रु एक करोड ४१ लाख ९१ हजार ४७० लागतमा अल्ट्रा इन्फोसिससँग सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले सबै क्षेत्रका सडकमा सौर्यबत्ती जडानको काम सम्पन्न गरेको छ ।
पछिल्लो समय दार्चुलामा विद्युत् सेवा अनियमित बन्दै गएको छ । छिनछिनमै बत्ती आउनेजाने समस्याले रातिको समयमा सडक सुनसान हुने अवस्था थियो । यस्तो अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सडकमा सौर्यबत्ती जडानलाई प्राथमिकतामा राखेको महाकाली नगरप्रमुख नरसिंह चैसिरले बताउनुभयो ।
नगर प्रमुख चैसिरका अनुसार ‘उज्यालो महाकाली, सुरक्षित महाकाली’ नारासहित सडक क्षेत्रमा सौर्य बत्ती विस्तार गरिएको छ । नगरपालिकाले खम्बा, सोलार प्यानल, ब्याट्री तथा बत्ती जडान सम्पन्न गरेको उहाँले बताउनुभयो । “नगरपालिकाको मुख्य क्षेत्र उज्यालो बनाउने अभियानले सार्थकता पाएको छ”, उहाँले भन्नुभयो, “यसको दिगो संरक्षणमा स्थानीयले साथ दिनुपर्छ ।”
हाल सदरमुकाम खलङ्गाको मुख्य बजारबाहेक महाकाली नदी किनार हुँदै लास्कु तथा महाकाली करिडोरअन्तर्गत बङ्गाबगड र श्रीबगडसम्मका क्षेत्रमा सडकमा बत्ती जडान गरिएको छ ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत भूपेन्द्र रैखोलाका अनुसार सौर्य सडक बत्तीका लागि आपूर्तिकर्ता कम्पनीले एक वर्षका लागि प्रतिबद्धता व्यक्त गरेको छ । “कुनै समस्या आए तत्काल मर्मत कम्पनीले नै गर्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । कम्पनीले प्यानल र ब्याट्रीमा सुनिश्चितता गरेको छ ।
सौर्य सडक बत्ती जडानपछि स्थानीयवासी तथा यातायात व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् । महाकाली नगरपालिका–९ का स्थानीय जगतसिंह चैसिरले रातिको समयमा हिँडडुल गर्न सहज भएको बताउनुभयो । रातिको समयमा हुने अवाञ्छित घट्ना कमी हुने उहाँको भनाइ छ ।
केही स्थानीयले खलङ्गा बजार, दल्लेख क्षेत्र तथा खुलामञ्च आसपासमा थप सडक बत्ती जडान गर्नुपर्ने माग गरेका छन् । स्थानीय गोविन्द अवस्थीले नगरपालिकाको पहल सकारात्मक भए पनि बजार क्षेत्रमा बिग्रिएका पुराना बत्ती मर्मत गरी सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
बजार क्षेत्रमा विद्युत्का खम्बा तथा ठाउँ अभावका कारण तत्काल बत्ती जडान गर्न नसकिएको नगरपालिकाले जनाएको छ । बिग्रिएका ठाउँमा मर्मत गरेर सञ्चानमा ल्याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्