काठमाडौं, २० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटलाई नेपाल–भारत सम्बन्ध र दुई देशबीचको राजनीतिक संवादका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
भेटवार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै नेपालसँगको सम्बन्ध भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको महत्वपूर्ण आधार रहेको उल्लेख गरेका छन्। उनले नेपाललाई भारतको प्राथमिक साझेदार राष्ट्रका रूपमा वर्णन गर्दै दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ नेतृत्वसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन्।
मोदीले साझा समृद्धि, विकास र क्षेत्रीय सहकार्यका लागि नेपालसँग नजिकबाट काम गर्न चाहेको उल्लेख गर्दै लामिछानेले व्यक्त गरेका विचार र आकांक्षालाई स्वागत तथा पूर्ण समर्थन गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका समसामयिक विषय, आर्थिक सहकार्य, व्यापार, लगानी, पर्यटन, पूर्वाधार विकास तथा दुई देशका राजनीतिक दलबीचको सम्बन्धका विविध आयाममा छलफल भएको बताइएको छ। साथै, रास्वपा र भारतीय जनता पार्टी ९भाजपा०बीच लोकतान्त्रिक अभ्यास, सुशासन र संगठन निर्माणसम्बन्धी अनुभव आदानप्रदानका विषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ।
भेटवार्तामा भारतीय पक्षबाट विदेशमन्त्री डा। एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल तथा विदेश सचिव विक्रम मिश्री सहभागी थिए। नेपाली पक्षबाट सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका नेताद्वय विपिन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।
भाजपा अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि सोमबार भारत पुगेका लामिछानेले यसअघि भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा। जयशंकर तथा भाजपा नेतृत्वसँग पनि भेटवार्ता गरिसकेका छन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वसँग भेटघाट गरी नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिरहेका छन्।
रास्वपाले यो भ्रमणलाई केवल औपचारिक राजनीतिक भेटघाटका रूपमा नभई नेपाल र भारतबीचको पारस्परिक विश्वास, सहकार्य र संवादलाई थप बलियो बनाउने अवसरका रूपमा लिएको जनाएको छ। प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भएको भेटलाई पछिल्लो समयको नेपाल–भारत राजनीतिक सम्बन्धमा चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्