भारतमा रवि लामिछानेको कूटनीतिक सक्रियता, आज भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं, १९ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी ९भाजपा० का शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्तामा सहभागी हुँदैछन्। भाजपा अध्यक्ष नितिन नवीनसहित अन्य प्रभावशाली नेताहरूसँग नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा हुने छलफललाई नेपाल–भारत राजनीतिक सम्बन्धको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

भाजपाको औपचारिक निमन्त्रणामा पाँचदिने भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका लामिछानेले लोकतान्त्रिक अभ्यास, दल सञ्चालनका अनुभव, दुई देशबीचको राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित भएर संवाद गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सांसद तथा पार्टीका वरिष्ठ नेताहरू सहभागी छन्। टोलीमा विपिन आचार्य, दीपक बोहोरा, लामिछाने पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन्। भ्रमण अवधिमा राजनीतिक भेटघाटसँगै कूटनीतिक वृत्तका व्यक्तित्व तथा भारतमा रहेका नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

यो भ्रमणलाई सामान्य राजनीतिक शिष्टाचारभन्दा पनि नेपाल–भारत सम्बन्धको वर्तमान परिवेशसँग जोडेर हेरिएको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहको भारतसम्बन्धी अभिव्यक्तिपछि दुई देशबीचको कूटनीतिक वातावरणबारे विभिन्न चर्चा भइरहेका बेला लामिछानेको दिल्ली भ्रमणलाई सम्बन्ध सुधार र विश्वास अभिवृद्धिको प्रयासका रूपमा समेत विश्लेषण गरिएको छ। केही परराष्ट्र मामिला विज्ञहरूले यसलाई ‘राजनीतिक संवादमार्फत सम्बन्ध व्यवस्थापन गर्ने अवसर’ का रूपमा व्याख्या गरेका छन्।

राजनीतिक वृत्तमा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गर्न सक्ने चर्चा भए पनि त्यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। यद्यपि भाजपा नेतृत्वसँगको उच्चस्तरीय संवाद भने भ्रमणको मुख्य आकर्षणका रूपमा रहेको छ।

रास्वपाले भ्रमणलाई दलगत सम्बन्ध विस्तार, क्षेत्रीय सहकार्य र साझा चासोका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ। दिल्लीमा हुने भेटवार्ताबाट भविष्यमा नेपाल र भारतका राजनीतिक शक्तिबीच प्रत्यक्ष संवाद र सहकार्यको दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणका क्रममा लामिछानेले अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार भ्रमण जेठ २२ गतेसम्म चल्नेछ र त्यसपछि प्रतिनिधिमण्डल स्वदेश फर्किनेछ।

प्रतिक्रिया दिनुहोस्