हस्तकलाका सामग्री बनाएर ९० महिला स्वरोजगार

टीकापुर, २६ वैशाखः कैलालीको टीकापुर र भजनीको थापापुरमा गुडिया, जनावरका आकृति बनाएर ९० बढी महिला स्वरोजगार भएका छन् ।

महिलाहरूले साँझ विहान घरको काम गरेर दिउँसोको समयमा हातले गुडिया, विभिन्न जनावरका आकृति बनाएर मासिक रु १० हजारदेखि २० हजारसम्म कमाउन थालेका छन् ।

कैलालीको भजनी–६ थापापुरका जनक चौधरीले ह्यान्डी काफ्ट उद्योग सञ्चालन गर्नुभएको छ । एक वर्ष काठमाडौँमा काम सिक्नुभएका जनकले गत वर्ष टीकापुर र थापापुरमा उद्योग खोल्नुभएको हो । जनक र उहाँका मामा मिलेर सञ्चालन गरेको उद्योगका लागि आवश्यक कच्चापदार्थ विदेशबाट झिकाउँदै आउनुभएको छ । “धागो, ऊन, सियो, म्याटलगायत केही सामग्री यही स्वदेशमै पाइन्छ”, उहाँ भन्नुहुन्छ, “केही सामग्री व्यापारीको सहयोगमा विदेशबाट समेत मगाउने गरिएको छ ।”

यहाँ हात्ती, भेडा, एन्जल परी, स्पट परी, कुकुरलगायतका जनावर र चराका आकृति बनाइएका छन् । यी सामग्री झोला, बस, कारका अघि झुन्ड्याउन प्रयोग हुने गर्दछन् । यी सामग्री बनाउन सिलाई र सरसफाइ कार्यमा टीकापुरमा मात्रै ६० र थापापुरमा ३० महिला काम गरिरहेका छन् । अझै कामदार महिलाको अभाव भएको जनकको भनाइ छ । उद्योगमा रु २० लाख लगानी गरिएको छ । “माग पुर्‍याउन सकिएको छैन, हामीले सयौँ महिलालाई रोजगारी दिने योजना बनाएका छौँ, खेतीपातिको समयमा कामदार अभाव हुन्छ”, उहाँले भन्नुभयो, “काम गर्न चाहने महिला सबैले रोजगारी पाउने छन् ।”

विभिन्न आकर्षक खालका ह्यान्डीक्राफ्ट देशका विभिन्न सहरसहित विदेश निर्यात हुने गरेका बताइएको छ । यहाँ काम गर्ने कतिपय महिलाहरूले दिनभरि उद्योगमै बसेर काम गर्छन् भने कतिपयले घरमा लगेरसमेत सामग्री निर्माण गर्ने गरेका छन् । महिलाले कामअनुसार आम्दानी लिने गरेका छन् ।

फुर्सदको समयलाई सदुपयोग गर्दै काम गर्न मिल्ने र आम्दानी पनि हुने गरेकाले सहज भएको गौलौरीकी राममती चौधरीले बताउनुभयो । घरको काम भ्याएर आउने गरेको र महिनामा रु १५ हजारसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । “पहिला ज्यालादारीको काम गर्थे, टीकापुरमै उद्योग खुलेको छ भन्ने जानकारी पाएपछि काम खोज्न आए, अहिले सहज भएको छ”, राममतीले भन्नुभयो, “घरको काम पनि भ्याउने, फुर्सदमा कमाइ पनि हुने, एक/दुई घण्टामात्रै गर्छु भने पनि काम पाइन्छ ।”

अधिकांश महिलाहरू ज्यालादारी गर्नुभन्दा उद्योगभित्रै बसेर काम गर्न पाउँदा खुसी छन् । राधा चौधरीले पनि घरको काम भ्याएर, बच्चा विद्यालय छोडेर आउनुहुन्छ, महिनामा १० हजारसम्म कमाउनुहुन्छ । “बेरोजगार थिए, बच्चालाई विद्यालय छोडेपछि केही काम थिएन”, उहाँले भन्नुभयो, “स्थानीय ठाउँमा उद्योग खुलेपछि हामीजस्ता महिलालाई काम र दाम दुवै पाइएको छ ।”

प्रतिमा चौधरीलाई पनि आफ्नै गाउँठाउँमा काम पाउँदा खुसी लागेको छ । काठमाडौँमा समेत काम गरेकी प्रतिमालाई आजभोलि घरमै बसेर काम गर्न सहज भएको छ । “म घर छाडेर पहिला यही काम काठमाडौँमा गर्थे, यहाँ उद्योग खोलेपछि यही फर्के”, उहाँले भन्नुभयो, “दैनिक कामका आधारमा कमाइ हुन्छ, कहिलेकाहीँ दिनको रु एक हजारसम्म पनि कमाउने गरेकी छु ।”

महिलाहरू घरखर्च चलेको र आफूलाई अप्ठ्यारो परेका बेला आर्थिक समस्यासमेत टर्ने गरेकाले खुसी भएका छन् । यसरी स्थानीय महिलालाई रोजगारीका अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु महिलाका लागि रोजगारीको अवसर भएको स्थानीय पवी रावलले बताउनुभयो । उहाँले महिलाहरू आयआर्जनमा जोडिएमा उनीहरूको जीवन समृद्ध बन्ने भएकाले महिलाले सीप सिक्नु र आयआर्जनका कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्