काठमाडौं, २५ बैशाख । निर्देशक लक्ष्मण रिजाल को नयाँ सिनेमा काजी को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको यस गीतले फिल्मको कथावस्तु र भावनात्मक पाटोलाई दर्शकमाझ प्रस्तुत गरेको छ । गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता बढ्ने अपेक्षा गरिएको छ ।

गीतमा चर्चित संगीतकार काली प्रसाद बास्कोटा को शब्द तथा संगीत रहेको छ भने स्वर गंगा सोनाम र करण परियार ले दिएका छन् । दुवै गायक नेपाल आइडल का विजेता हुन्। विशेष रूपमा, गंगा सोनामले यही गीतमार्फत नेपाली फिल्म क्षेत्रमा पाश्र्व गायनमा डेब्यु गरेकी छन्, जसले गीतलाई थप आकर्षक बनाएको छ ।

गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी नवविवाहित जोडीको भूमिकामा देखिएका छन् । उनीहरूको स्वाभाविक अभिनय र प्रेमिल केमिस्ट्रीले गीतलाई जीवन्त बनाएको छ ।

भिडियोमा दाम्पत्य जीवनका स–साना क्षणहरू, बिहानको पूजा–पाठदेखि खेतबारीको कामसम्मका दृश्यहरू समेटिएका छन्, जसले ग्रामीण जीवनशैली र पारिवारिक सम्बन्धको मिठास झल्काउँछ । गीतको कोरियोग्राफी कविराज गहतराज ले गरेका छन् ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । विपिन र केकीसँगै फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दिक्षिता अर्याल, आरव बराल र सुपला सापकोटालगायत कलाकारहरूको अभिनय रहेको छ ।

 

निर्माण टिमका अनुसार ‘काजी’ भावनात्मक र सामाजिक कथामा आधारित सिनेमा हो, जसले मानवीय सम्बन्ध, प्रेम, पीडा र जिम्मेवारीका विविध आयामलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

फिल्मको कथा प्रदीप भारद्धाज ले लेखेका हुन् भने छायांकन चिन्तन राजभण्डारी ले गरेका छन् । प्रोडक्सन डिजाइन ओजस्वी ओझा, रंग संयोजन श्याम कुँवर तथा पाश्र्व संगीत सुजिल कर्माचार्य को रहेको छ । साथै, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् ।

कार्यकारी निर्माता असिम काफ्ले रहेको यस फिल्मका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्