काठमाडौँ, २५ वैशाख । कानुनी विवादका कारण प्रदर्शन मिति अनिश्चित बनेको नेपाली फिल्म लालीबजार अन्ततः यही शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । उच्च अदालत पाटनले फिल्म रोक्न माग गरिएको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि निर्माण पक्षले प्रदर्शनको औपचारिक तयारी अगाडि बढाएको हो ।
निर्देशक यम थापा ले फिल्म वैशाख २५ गतेदेखि देशभर प्रदर्शन हुने जानकारी दिएका छन् । अदालतको निर्णयसँगै प्रदर्शनमा देखिएको अन्योल हटेको र सिनेमा हलहरूले अग्रिम टिकट बिक्रीसमेत सुरु गरिसकेको जनाइएको छ ।
यसअघि लालीबजार वैशाख १८ गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, फिल्मसँग सम्बन्धित विवाद अदालत पुगेपछि प्रदर्शन रोकिएको थियो । वैशाख १५ गते उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको थियो । उक्त आदेशपछि निर्माण टिमले निर्धारित मितिमा फिल्म रिलिज गर्न सकेको थिएन ।
बुधबार न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्य को संयुक्त इजलासले भने उक्त अल्पकालीन आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेको छ । अदालतको यही निर्णयपछि फिल्म प्रदर्शनको बाटो पूर्ण रूपमा खुलेको हो ।
नेपाली फिल्म क्षेत्रमा पछिल्ला वर्षहरूमा प्रदर्शन अधिकार, शीर्षक, निर्माण साझेदारी तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद अदालतसम्म पुग्ने क्रम बढिरहेको सन्दर्भमा लालीबजार को प्रकरणलाई पनि चासोका साथ हेरिएको थियो ।
फिल्म प्रदर्शन मिति नजिकिँदै गर्दा कानुनी अवरोध आउँदा निर्माता तथा वितरकलाई आर्थिक जोखिम बढ्ने भएकाले अदालतको पछिल्लो निर्णयलाई निर्माण पक्षले राहतका रूपमा लिएको छ ।फिल्म लालीबजार लाई षट्कोण आट्र्स ले प्रस्तुत गरेको हो ।
निर्देशक यम थापाको निर्देशन रहेको यस फिल्ममा समसामयिक सामाजिक र मानवीय सम्बन्धका विषयलाई कथावस्तुका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ ।फिल्ममा स्वस्तिमा खड्का, विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल र आशा पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।
विशेषगरी अभिनेत्री स्वस्तिमा खड्काको उपस्थितिका कारण फिल्मप्रति युवा दर्शकमाझ प्रारम्भदेखि नै उत्सुकता देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका पोस्टर, ट्रेलर र प्रचार सामग्रीले पनि दर्शकको ध्यान खिचेको निर्माण पक्षको भनाइ छ ।
नेपाली फिल्म उद्योग पछिल्लो समय पुनः चलायमान बन्ने प्रयासमा रहेका बेला नयाँ फिल्महरूको प्रदर्शनलाई उद्योगले आशाका रूपमा हेरेको छ । कोभिडपछि दर्शकलाई पुनः हलसम्म आकर्षित गर्ने चुनौतीबीच नेपाली फिल्मले प्रतिस्पर्धात्मक बजारमा आफूलाई स्थापित गर्नुपर्ने दबाब छ । यस्तो अवस्थामा अदालतबाट प्रदर्शन अनुमति पाएपछि लालीबजार प्रति निर्माण टिम मात्र होइन, हल व्यवसायीहरू पनि आशावादी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्