काठमाडौं, २५ बैशाख । लक्ष्मी सनराइज बैंकले महिला उद्यमशीलता प्रवद्र्धन तथा समावेशी वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य सम्झौता गरेको छ । विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्थासँग गरिएको उक्त सम्झौता ‘महिलामैत्री बैंकिङ’ पहलअन्तर्गत लैङ्गिक आधारमा वर्गीकृत तथ्याङ्क व्यवस्थापन कार्यक्रमसँग सम्बन्धित रहेको बैंकले जनाएको छ ।
महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यमलाई लक्षित गर्दै गरिएको यो सहकार्यलाई महिला उद्यमी वित्त पहल (वी–फाइ) ले सहयोग गरिरहेको छ। वी–फाइ विश्वभर महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्न स्थापित बहुदातृ अन्तर्राष्ट्रिय पहल हो, जसले महिला उद्यममा लगानी वृद्धि, वित्तीय समावेशिता तथा आर्थिक सशक्तीकरणमा जोड दिँदै आएको छ ।
यस पहलअन्तर्गत सञ्चालन हुने ‘महिला उद्यमी वित्त संहिता’ लाई वित्तीय संस्था, नियामक निकाय तथा अन्य सरोकारवालाबीचको साझा प्रतिबद्धताका रूपमा लिइन्छ । यसको उद्देश्य महिला उद्यमीलाई सहज वित्तीय पहुँच उपलब्ध गराउँदै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पु¥याउनु हो ।
सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गर्नुभएको थियो ।
सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा वर्गीकृत तथ्याङ्कको सङ्कलन, विश्लेषण तथा उपयोग प्रणालीलाई थप व्यवस्थित बनाउन प्राविधिक सहयोग गर्नेछ । यसबाट महिला स्वामित्वमा रहेका साना तथा मझौला व्यवसायका आवश्यकता, चुनौती र सम्भावनाबारे स्पष्ट जानकारी प्राप्त गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
बैंकका अनुसार तथ्याङ्कमा आधारित अध्ययनले महिला उद्यमीका लागि थप प्रभावकारी, व्यावहारिक तथा लक्षित वित्तीय सेवा र योजनाहरू विकास गर्न सहयोग पुग्नेछ । विशेषगरी महिला उद्यमीलाई कर्जा, वित्तीय परामर्श तथा व्यवसाय विस्तारमा सहयोग पु¥याउने कार्यक्रम सञ्चालन गर्न यो सहकार्य उपयोगी हुने अपेक्षा गरिएको छ ।
नेपालमा महिला उद्यमशीलताको दायरा विस्तार हुँदै गए पनि वित्तीय पहुँच, धितो, व्यवसायिक तालिम तथा लगानी अवसरमा अझै चुनौती कायम रहेको विभिन्न अध्ययनले देखाउँदै आएका छन् । यस्तो अवस्थामा बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबीचको सहकार्यलाई महिला आर्थिक सशक्तीकरणतर्फ सकारात्मक कदमका रूपमा हेरिएको छ ।
लक्ष्मी सनराइज बैंकले यो साझेदारीले जिम्मेवार बैंकिङ अभ्यासप्रति आफ्नो प्रतिबद्धता थप बलियो बनाउने जनाएको छ । बैंकले महिला उद्यमशीलता प्रवद्र्धन, वित्तीय समावेशिता र दिगो आर्थिक विकासमा दीर्घकालीन योगदान पु¥याउने लक्ष्यसहित कार्यक्रम अघि बढाइने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्