काठमाडौं, २३ बैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको प्रतिस्पर्धामा नेपालले प्रभावशाली प्रदर्शन गर्दै ओमानलाई ८१ रनले पराजित गरेको छ । बलिङतर्फ गुलशन झा को उत्कृष्ट प्रदर्शन र ब्याटिङमा आशिफ शेख को सानदार इनिङ्स नेपालको जितका मुख्य आधार बने ।
२ सय ५७ रनको लक्ष्य पछ्याएको ओमान ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७५ रनमा समेटियो । सुरुवातदेखि नै दबाबमा परेको ओमानले नियमित अन्तरालमा विकेट गुमाउँदै खेलमा फर्कने अवसर गुमायो ।
ओमानको इनिङ्स सातौं ओभरमै झड्का खायो, जब कप्तान जतिन्द्र सिंह १२ रनमा आउट भए। त्यसपछि सिद्धार्थ भुक्कापटनम रनको खाता नै नखोली रनआउट हुँदा ओमान थप दबाबमा पर्यो । नेपालका बलरहरूले अनुशासित बलिङ गर्दै विपक्षीलाई जम्नै दिएनन् ।
ओपनर हसनन २९ रन बनाएर गुलशन झा को सिकार बनेपछि ओमानको अवस्था कमजोर बन्दै गयो । त्यसपछि आर्यान्स बिष्ट पनि ६ रनमा आउट भए । ८० रनमै चार विकेट गुमाएको ओमान खेलमा पछि परिरहेको थियो ।
जितेन रामानन्दी, हमाद मिर्जा र वासिम अली जस्ता ब्याट्सम्यान पनि ठूलो स्कोर बनाउन असफल भए । २६ ओभरसम्म आइपुग्दा ओमान ६ विकेट गुमाएर १ सय १० रनमा सीमित भयो, जहाँबाट पुनरागमन लगभग असम्भव बन्यो ।
गुलशन झाले आफ्नो उत्कृष्ट लय कायम राख्दै विनायक शुक्ला र हसनेन साहलाई समेत आउट गरे । उनले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिँदै एकदिवसीय क्रिकेटमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन दोहोर्याए । यसअघि पनि उनले ओमानविरुद्ध ५ विकेट लिएका थिए ।
अन्य बलरहरूले पनि राम्रो साथ दिए । करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो । सुरुवात भने कमजोर रह्यो, जब ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए र नेपालले रनको खाता खोल्न सकेन ।
तर त्यसपछि आशिफ शेख र अर्जुन कुमालले उत्कृष्ट साझेदारी गर्दै इनिङ्स सम्हाले । दुवैले दोस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरे । अर्जुन ४८ रनमा आउट हुँदै अर्धशतकबाट नजिकै चुके ।
कप्तान रोहित पौडेल पनि ९ रनमै आउट भएपछि नेपाल फेरि दबाबमा आएको थियो । तर आशिफले संयमित र आक्रामक ब्याटिङ गर्दै टोलीलाई मजबुत अवस्थामा पु¥याए । उनले ९७ बलमा ७ चौका र ५ छक्कासहित ९४ रन बनाए । उनी शतकबाट मात्र ६ रनले चुके, तर टोलीका लागि महत्वपूर्ण योगदान दिए ।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरी ले ३३ रनको उपयोगी इनिङ्स खेले भने अन्तिम समयमा आरिफले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा ४३ रन जोडे। अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै उनले नेपालको स्कोर २ सय ५० पार गराएका थिए ।
ओमानका लागि नदिम खानले ३ विकेट लिए भने सकिल अहमद र हसनेन साहले समान २–२ विकेट लिए ।
यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो आठौं जित दर्ता गरेको छ। कुल १८ अंकसहित नेपाल तालिकाको सातौं स्थानमा कायम छ । यो सिरिजमा नेपालले खेलेका चार खेलमध्ये तीनमा जित हासिल गर्दै ६ अंक जोड्न सफल भएको छ । यसअघि नेपालले युएईलाई दुई खेलमा हराएको थियो भने ओमानसँगको पहिलो खेलमा हार बेहोरेको थियो ।
ओमान भने यस सिरिजमा कमजोर प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा पराजित भएको छ । यद्यपि, ३१ अंकसहित ओमान तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्