काठमाडौँ, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३०, २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ ।”
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने र प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।”
बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती हाम्रोसामु भएको उल्लेख गर्दै राष्ट्रपति पौडेल त्यस्ता चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।
यसैगरी,उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३०, २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, “पछिल्लो समय सञ्चारमाध्यम केवल मुद्रित वा प्रसारणमा सीमित छैन, सामाजिक सञ्जालले समाचारको पहुँचलाई तीव्र बनाएको छ, तर ‘एल्गोरिदम’को प्रभावले सत्य समाचारलाई कहिलेकाहीँ छायाँमा पार्छ, भ्रामक सामग्रीलाई अगाडि ल्याउन सक्छ, यसले पत्रकारिता र नागरिक दुवै समक्ष सत्यलाई पहिचान गर्ने, विवेकपूर्ण छनोट गर्ने र जिम्मेवार सञ्चारलाई प्रोत्साहन गर्नेजस्ता चुनौती थपिदिएको छ ।”
उपराष्ट्रपति यादवले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता पत्रकार वा सञ्चारकर्मीको अधिकारमात्र नभई सत्य जान्ने, विचार अभिव्यक्त गर्ने र विवेकपूर्ण निर्णय गर्ने सम्पूर्ण नागरिकको साझा अधिकार भएको उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “नेपालको सन्दर्भमा, यहाँका पत्रकारहरूले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन्, तर आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले प्रेससामु थप परिमार्जित, व्यवस्थित र संयमित भई प्रस्तुत हुनुपर्ने चुनौती छ, यी चुनौतीलाई सामना गर्न संविधानमा निहित प्रेस स्वतन्त्रताको व्यवस्था हाम्रो मार्गदर्शन हो ।”
नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । संविधानले दिएको सो अधिकारको प्रयोग र रक्षा गर्दै पत्रकारिता निर्भयपूर्वक अघि बढोस् भनी उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्